• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

तारकेश्वर घटना: प्रेम विवाहबाट बनेको सुन्दर परिवारको दुःखद अन्त्य


काठमाडौंकोतारकेश्वर नगरपालिका–२ स्थित पदमसालका ४१ वर्षीय दिनेश पाण्डेले दुई सन्तान र पत्नीको ज्यान लिए ।३ जनाको हत्यापछि उनले आत्महत्या गरेको प्रहरी को प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गोरखा भिमसेनथापा गाउँपालिका–६ स्थायी घर भएका दिनेश र पत्नी ३९ वर्षीया सुनिता मिलेर तारकेश्वरमा घर बनाएका थिए । उनीहरुका दुई सन्तान

१३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक काठमाडौंमा पढ्थे । छोरी सैनिक स्कुलमा पढ्थिन् । आशिकालाई लिन सोमबार बिहान पदमशालमा पुगेको सैनिक स्कुलको गाडी उनलाई नलिइ फर्केको छ । अब, आशिका कहिल्यै स्कुल जाने छैनन् । गोरखा धुसेनी घर भएकी सुनिता काप्री भिमसेनथापा गाउँपालिका स्थित आश्राङमा सानैदेखी जान्थिन् । आश्राङका पाण्डे उनका मावली हुन् । मामाघर जाँदा पाण्डे र सुनिता प्रेममा परे । प्रेमसम्बन्ध पछि उनीहरुले विवाह गर्ने निधो गरेका हुन् । तर, पाण्डेकै भाञ्जी भएको हुनाले परिवारले विवाह अस्वीकार गरेका थिए । परिवारले अस्वीकार गरेपनि प्रेमलाई उनीहरुले विवाहको रुप दिए ।

दुई सन्तान जन्मिए । दिनेश ११ वर्ष कुवेतमा पसिना बगाएर फर्किए । ४ वर्षअघि नेपाल आएर तारकेश्वरमा घर बनाए । परिवार ठीकठाक चल्दै थियो । तर, २०७७ माघमा सुनिताले आफुलाई तरकारी काट्ने चक्कुले हिर्काएर हत्या प्रयास गरेको भनेर दिनेशविरुद्ध प्रहरी वृत बालाजुमा उजुरी गरेपछि ‘घर झगडा’ हुन थाल्यो । दिनेशले सुसाइड नोटमा लेखेका छन्– ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो, मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’

झगडा बढ्दै जाँदा दिनेशले सामूहिक हत्या गरेर आत्महत्याको निर्णय लिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सोमबार सैनिक स्कुलको गाडी धेरैबेर रोकियो आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटर भित्र रहेको एकतले घरको ढोका खुलेन । झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो । दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृत अवस्थामा पल्टिरहेका ।

प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृत अवस्थामा भेटिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुन्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । मध्यरातमा पत्नी र छोराछोरीलाई चक्कुले घोपेर हत्या गरेपछि दिनेशले आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रेम विवाहबाट बनेको सुन्दर परिवारको यसरी दुःखद अन्त्य भएको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार