• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

सप्तकोसी नदी ओभरफ्लो : त्रासले स्थानीयहरू सुरक्षित स्थानतर्फ जाँदै


राजविराज पहाडी जिल्लाहरूमा परेको निरन्तर वर्षाका कारण सप्तकोसी नदी कटान र ओभरफ्लो भइ उदयपुर जिल्लाको बेलका नगरपालिका ८ डुम्रीबोटे नजिकै नदी बस्तीतर्फ सोझिने खतरा बढेको छ।उक्त स्थानमा सप्तकोसी नदीको बाढी नदीभन्दा बाहिर आए उदयपुरको बेलका नगरपालिकासहित सप्तरीसम्मका बस्ती प्रभावित हुने सम्भावना छ । बेलका

नगरपालिका ८ मा कोसी नदी बस्तीतर्फ सोझिएर पुरानो धारमा पस्ने अवस्था आउन सक्ने भएकाले स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।निरन्तरको वर्षाका कारण पानीको सतह बढेको र पछिल्ला केही वर्षयता कोसी नदीको धार पश्चिमतर्फ धकेलिएकाले अहिले नदी बस्तीमा पस्ने खतरा बढेको हो ।जलस्रोत तथा सिँचाइ विभागका उप महानिर्देसक समेत रहेका प्रवक्ता कृष्णप्रसाद नेपालले कोसी नदीको पानीको सतह बढ्दा उदयपुरको बेलका नगरपालिका नजिक असहज स्थिति आएको बताए । ‘अहिले २ लाख २५ हजार क्युसेक प्रति सेकेन्डका दरले बहाब भइरहेको छ, जुन बहाव बढी हो,’ प्रवक्ता नेपालले भने, ‘ओभरफ्लो हुन सक्ने अवस्थाका कारण असहज स्थिति आएको छ, आपतकालीन रोकथामका कार्य भइरहेको छ ।’यसअघि गत असारमा पनि उक्त स्थानमा समस्या हुँदा विभागले रोकथामको काम गरे पनि स्थायी समाधान हुन सकेको थिएन । ‘बेलका नगरपालिकासित निरन्तर समन्वय र सम्पर्कमा छौं’ प्रवक्ता नेपालले भने, ‘नगरपालिकासितको समन्वयमा अहिले पनि आपतकालीन रोकथामको कार्य भइरहेको छ ।’

नदी बस्तीतर्फ सोझिने खतरा बढेपछि अहिले बेलका नगरपालिका वडा नम्बर ३ का स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेको नगरप्रमुख अशोक कार्कीले बताए । नगरपालिकाले बाढी पसेर प्रभावित हुन सक्ने क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा जान माइकिङ समेत गरिरहेको छ ।पूर्वी पहाडमा लगातारको वर्षातसँगै सप्तकोसी नदीमा आएको बाढिले पश्चिम तटीय क्षेत्रमा दुई सातायता कटान तीव्र पारेको थियो । अहिले जोखिम रहेको स्थानमा बाढी बस्तीतर्फ सोझिए पश्चिम तटीय क्षेत्रका २० हजार भन्दा बढी मानिस विस्थापनको उच्च जोखिमा पर्ने छन् । दुई वर्षयता पश्चिम किनारतर्फ धकेलिएको कोसीले डुम्रीबोटेमा कटान गरिरहेको हो ।

कोसी छिर्दा उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्तीका १ हजार ७ सय परिवारका २० हजार बढीको बसोबास जोखिममा पर्ने छ । त्यस्तै छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिका साथै सुनसरीमा समेत क्षति पुग्ने खतरा छ ।अहिले कटान गरिहेको डुम्रीबोटे क्षेत्र रोक्न सकिएन भने जोखिम निश्चित रहेको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले बताए । कार्कीका अनुसार डुम्रीबोटेमा कटान भएका कोसी पुरानै धार हुँदै बग्ने निश्चित छ । २०४५ सालअघि कोसी ७ नम्बर स्पर दक्षिण डुम्रीबोटे हुँदै बग्ने गरेको स्थानीयहरू बताउँछन् ।

‘कोसीले अब डुम्रीबोटेमा ७ – ८ मिटरमात्रै कटान गरेमा जोखिम हुन्छ,’ नगरप्रमुख कार्कीले भने, ‘तर अहिले कटान रोक्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रयास गरिहेको छ ।’ सिँचाइ विभाग, राष्ट्रिय विपद्‍ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय बासिन्दा, नगरपालिका कटान रोक्ने प्रयास गरिरहेको उनले बताए ।कोसी कटानको त्रासले सर्वसाधण घरमा बास बस्नै छोडेको बेलका नगरपालिका – ३ का वडाध्यक्ष टंक आर्चायले बताए । ‘झण्डै एक सातायता धौरी र श्रीलंका टाप्पु, बाधडाँडा, भागलपुर लगायत सर्वसाधण रातभर घर बस्नै छोडे,’ उनले भने, ‘सर्वसाधारणलाई कटानबाट हुने जोखिमका लागि सतर्क हुन आग्रह गरिएको छ ।’ त्यसैले पनि होला सर्वसाधाण रातभर जाग्राम बस्दै आएका छन् ।’

सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका सप्तरी जिल्लाका बस्तीमा हाई अलर्ट गरिएको छ । पानीको अत्यधिक चाप रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा हाई अलर्ट गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिए । सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ ।

एसपी काफ्लेका अनुसार मंगलबार बिहान ११ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको छ । कोसी बयारेजका ३२ वटा ढोका खोलिएको छ ।पानीको सतह बढेसँगै टापु बस्ती गोबरगाढास्थित विद्यालय नजिक कटान पुगेको छ । नगरपालिकाले कटान हुन सक्ने सम्भावित जोखिमका कारण यसअघि नै सो विद्यालयको छानामा रहेको जस्ता र ढोकाहरू खालेर सुरक्षित स्थानमा राखेको छ । पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।

यस्तै कोसीमा पानीको सतह बढेसँगै हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान लागेको छ । सो वडाका वडाध्यक्ष कृष्णकुमार यादवका अनुसार डलबास्थित स्परमा कटान लाग्दा स्थानीय त्रसित भएका छन् । कटान नियन्त्रणका लागि भारतीय कोसी योजनाका ठेकेदारहरू काम सुरु गरे पनि पानीको दवाव अत्यधिक रहेकाले नियन्त्रण हुन नसकिरहेको वडाध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार