• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश विरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल ( लाइभ गेम हेर्नुहोस् )


भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ । पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् ।आइतरबारको खेलमा घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष २ मा पुग्ने समीकरण कठिन

बनेको हो । पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिएका छन् ।बंगलादेश, भारत र नेपालमध्ये दुई टिम फाइनल पुग्नेछ । तर नेपाललाई फाइनल पुग्न धेरै चुनौती छ ।
अहिलेसम्म बंगलादेश सबै तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन् । हेड टू हेडमा भारत अगाडि छ ।आज (मंगलबार)को पहिलो खेल नेपाल र बंगलादेशबीच भएकोले नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ । हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालले बंगलादेशलाई हराएमा फाइनल पुग्ने सम्भावना बढ्ने छ । तर, फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच सवा ७ बजे हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

हेर्नुहोस् अहिले जारी खेल लाइभ
https://youtu.be/8kWHukkMkzw

नेपालले बंगलादेशलाई पराजित गरेमा र भारती टिम माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनलमा पुग्नेछ । यदी नेपाल र भारत दुवैले आ–आफ्नो खेल जितेमा तीन वटै टिमको समान ९ अंक हुनेछ । यस्तोमा तीन टिमबीचको हेड टु हेड र गोलअन्तरमा गणना गरिनेछ ।सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्स र श्रीलंकामाथि सहज जित हात पार्दै नेपालले फाइनल पुग्ने सम्भावालाई बलियो बनाएको थियो । नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

तर, तेस्रो खेलमा अनपेक्षित रुपमा भारतसँग ८–० गोलअन्तरको हारपछि नेपाललाई झड्का लाग्यो । यो नतिजाले नेपालको गोलअन्तर ऋणात्मक बनेको छ ।पहिलो खेलमै बंगलादेशसँग पराजित भएको भारतले त्यसयता उत्कृष्ट प्रदर्शन गरिरहेको छ । भारतलाई समेत पराजित गरेको बंगलादेश जारी च्याम्पियनसिपमा सबै अपराजित एक्लो टोली हो । पछिल्लो समय बंगलादेशले युवा फुटबलमा राम्रो लगानी गरिरहेको छ । त्यसको प्रतिफल उमेरसमूहको प्रतिस्पर्धामा देखिएको छ ।बंगलादेश फुटबल फेडेरेसनले सन् २०२१ मा बीएफएफ इलाइट फुटबल एकेडेमी स्थापना गर्दै युवा खेलाडीहरुको विकास सुरु गरेको हो । यस एकेडेमीले बंगलादेशको दोस्रो श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ ।

नेपालमा भने कोरोना महामारीपछि उमेर समूहको प्रतियोगिता हुन नसक्दा यो प्रतियोगिताका लागि देशभरबाट खुल्ला छनोटमार्फत टिम बनाइएको थियो । देशभरबाट आएका खेलाडीहरुले छोटो समयमात्र एकसाथ बिताउन पाए । राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान आयुष घलान र ए डिभिजन खेलेका केही खेलाडी भए पनि नेपाली टिममा धेरै जसो पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका खेलाडी छन् ।भारत विरुद्धको खेलमा ८–० को हारपछि प्रशिक्षक मेघराज केसीले पनि खेलाडीमा अनुभवको कमी देखिएको स्वीकारेका छन् । टिमको क्षमता भए पनि अनुभवको कमीले गर्दा यो नतिजा आएको उनको भनाइ थियो ।

सुरुवाती दुई खेलमा नेपालले दोस्रो हाफमा धेरै गोल गर्दै खेल जितेको थियो । भारत विरुद्ध भने पहिलो हाफमा एक गोल खाएको थियो । दोस्रो हाफमा ७ गोल बेहोरेको थियो ।अब बंगलादेशविरुद्ध खेल्दा नेपालले भारतसँगको हारलाई बिर्सेर खेल्नुपर्नेछ । यसअघि साफ यू–१९ र यू–१८ को नामबाट हुँदा नेपाल बंगलादेशसँग अपराजित छ । सन् २०१५ मा नेपालमै भएको पहिलो संस्करणको साफ यू–१९ र २०१७ मा भुटानमा भएको साफ यू–१८ मा नेपालले बंगलादेशलाई २–१ को नतिजामा पराजित गरेको थियो ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार