• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

बढ्दै कोसीको बहाब, ४६ वटा ढोका खोलियो, बाढीले विस्थापित २ हजार ५ सय परिवारको उद्धार


राजविराज — सप्तकोसी नदीमा पानीको बहाब बढ्दो क्रममा छ । बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।उनका अनुसार कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएको छ ।

कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब कम भएको छैन ।प्रहरी उपरीक्षक काफ्लेका अनुसार पानीको तीव्र बहाबका कारण कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । गोबरगाढामा अहिले २ सय ५० देखि ३ सय जना मानिस रहेको र उनीहरू सुरक्षित स्थानमा रहेको काफ्लेले जानकारी दिए ।

कोसी बाढीले विस्थापित २ हजार ५ सय परिवारको उद्धार गरिँदै

उदयपुर — सप्तकोसीको धार परिर्वतन भएर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि विस्थापित २ हजार ५ सय परिवारको उद्धार गरिँदै छ । अहिलेसम्म करिब २ हजार परिवारको उद्धार गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

‘अहिले पनि उद्धार कार्य जारी छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘साँझसम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ ।’ उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् ।

वेलका नगरपालिका–८ डुम्रिबोटेबाट झण्डै ३ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो । बुधबार बिहान पसेको कोसीले बेलका ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का २ हजार ५ सय परिवार विस्थापित हुनु परेको छ । उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताए ।

बेलका नगरप्रमुख अशोक कार्कीले प्रभावित क्षेत्रमा कोसीको बहाव झन् बढेको बताए । नगरप्रमुख कार्कीले भने, ‘अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबान भइसक्यो ।’ डुबानको क्रम बढ्दै गएकोले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा ल्याइँदैछ ।

पहाडी क्षेत्रमा केही दिनयता अविरल वर्षातसँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा कटान गरी कोसी गाउँ पसेको हो । बाढी पसेपछि बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ तथा सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ का स्थानीय प्रभावित भएका छन् । प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गईरहेको वडा नम्बर ३ का सदस्य फागुनी कार्कीले बताए ।

अहिलेकै अवस्थामा कोसीको बहाव बढ्दै गए सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा समेत असर गर्ने सम्भावना रहेको नगरप्रमुख कृष्ण ढकालले बताए । त्यसका लागि सर्तकता अपनाउन थालिएको उनले बताए ।त्यसैगरी सप्तरीकै कञ्चनपुर नगरपालिकाका १, २, ४, ५ र १० नम्बर वडा पनि प्रभावित हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार