• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

‘देश जोगाउने हो भने ओलीले नेतृत्व गर्नु पर्छ’-सीपी मैनाली


काठमाडौं नेकपा मालेका महासचिव सीपी मैनालीले गठबन्धनका नेता लाज पचाएर लम्पसारवादी भइसकेको भन्दै देश जोगाउन एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै महासचिव मैनालीले गठबन्धनको छाता ओढेर कांग्रेसको

बहुमत सरकार बनाउने र असार ६ गते रोकेको एसपीपी अर्को नाममा आउने सुनिश्चित रहेको दाबी गरे । उनले देशलाई जोगाउने हो भने केपी ओलीले नेतृत्व गर्नुपर्ने बताए ।मैनालीले भने–सबै देशभक्तले यो रोक्नुपर्छ । यो काम गर्ने हो भने एमालेको अध्यक्ष केपी ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी । उनीहरु गलत शक्तिलाई लिएर दुष्ट अभिष्ट पूरा गर्न लाग्छन् भने तपाईले प्रतिपक्षमा रहेका देशभक्त शक्तिहरुको गठबन्धन बनाउनुपर्छ । उनीहरुसँग मत कम भए पनि गुडविल छ । दुष्ट गठबन्धनको बहुमत रोक्न सकिन्छ र तपाईको नेतृत्वको गठबन्धनले बहुमत ल्याउन सक्छ ।

मैनालीले केपी ओलीले गरेको संसद विघटन प्रतिगमन नभएर तत्कालीन नेकपाको बहुमत पक्षले गरेको निषेधबाट बाँच्नका लागि चालिएको बाध्यात्मक कदम रहेको बताए । उनले प्रचण्ड माधवहरुले विदेशी गुहारेर परमादेशबाट गठबन्धनको प्रधानमन्त्री बनाएको आरोप समेत लगाए ।मैनालीले भने–पुस ५ गतेको संसद विघटन प्रतिगमन थिएन । पार्टीभित्र जुन ढंगले अन्तरविरोध हल गर्ने सन्दर्भमा बहुमतले अल्पमतलाई १९ पन्ने अभियोगबाट निषेध गर्न खोज्यो, त्यसबाट बाँच्ने क्रममा संसद विघटन भएको हो । उनीहरुले त्यसलाई प्रतिगमन भनेर जुलुस निकाले । विदेशी गुहारे । बाह्य देउताले सुने र सर्वोच्चबाट परमादेश भयो ।

मैनालीले सत्तारूढ पाँचदलीय गठबन्धनको उद्देश्य पूरा हुन नपाउने भन्दै दुषित गठबन्धन सफल भएमा मुलुक असफल हुने दाबी गरे ।‘अहिले एउटा चर्चित गठबन्धन छ । आफूलाई बामलोकतान्त्रिक गठबन्धन भन्छ, अरु केही बामलाई त्यहाँ निषेध गरिन्छ,’ उनले भने, ‘त्यो गठबन्धनका प्रमुख एक अगुवा मित्रले भन्नुहुन्छ– हामी दोस्रो पार्टी बन्छौं । पहिलो को बन्छ भन्दा नेपाली कांग्रेस ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी उनले यस्तो अभिव्यक्ति दिएका हुन् । नेपाली कांगे्रसलाई पहिलो पार्टी बनाउन गठबन्धन गरिएको उनले दाबी गरे ।‘अहिले पनि त्यसै गठबन्धनबाट संसदले नचुनेको प्रधानमन्त्री हुनुहुन्छ । जनादेशबाट होइन, परमादेशबाट चुनिएको प्रधानमन्त्री,’ उनले भने ।यिनै प्रधानमन्त्रीलाई जनताबाट चुनेको प्रधानमन्त्री बनाउन गठबन्धन गरिएको उनले टिप्पणी गरे ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार