• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

नक्सा पासको काम कहाँ पुग्यो? अब घरै बसेर हेर्न सकिने


काठमाडौं महानगरपालिका का सेवाग्राही ले अब आफ्नो नक्साको काम कहाँ पुग्यो भनेर घरै बसेर हेर्न सक्ने भएका छन्। महानगरले नक्सा पासको काम कहाँ पुग्यो भनेर सेवाग्राही आफैंले हेर्न सक्ने गरी सफ्टवेयर विकास गर्न लागेको छ। सेवाग्राही आफैंले नक्सा पासको काम अनलाइबाट हेर्न सके भने महानगर आइरहन नपर्ने भएकाले सफ्टवेयर विस्तार

गर्न लागिएको महानगरका सहरी व्यवस्था विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए। ‘नक्सा पास कहिले हुने हो, कहाँ पुग्यो भनेर इञ्जिनियरलाई सोधिरहन पर्दैन। उनीहरू आफैंले हेर्न सक्छन्,’ उनले भने, ;हामी लग-इन आइडी दिन्छौं।’सेवाग्राही आफैंले नक्सा पासको काम हेर्न सकिने गरी सफ्टवेयर अपडेट गर्न कन्सेल्टेन्टलाई जिम्मा दिइसकेको छ। ‘हामीले सफ्टवेयर अपडेट गर्न जिम्मा लगाइसकेका छौं,’ उनले भने, ‘यो वर्ष भित्रै यो काम सकिन्छ।’ विभागका प्रमुख शाक्यका अनुसार यसअघि नक्सा बनाउने इञ्जिनियरले मात्रै नक्सा पासको काम हेर्न पाउँथे। काठमाडौं महानगर क्षेत्रभित्रको कुनै स्थानमा भवन निर्माण गर्न चाहने व्यक्तिले महानगरपालिकामा दर्ता भएका डिजाइनर/कन्सल्टेन्ट नक्सा डिजाइन गराई डिजाइनर डेस्कमार्फत अनलाइनमा फर्म भरी भवन निर्माण इजाजत विभागमा दर्ताका लागि पठाउनु पर्नेछ।

इबिपिएस (इलेक्ट्रोनिक्स बिल्डिङ पर्मिट सिस्टम) मार्फत् प्राप्त नक्सा कागजातहरूको नक्सा जाँच गरी भवन निर्माण सम्बन्धी मापदण्ड तथा भवनसंहिता सम्बन्धी प्राविधिक पक्ष जाँच गर्न प्राविधिक डेस्कमा पठाइने छ। उक्त नक्सा प्राविधिक डेस्कमा जाँच भई प्रचलित मापदण्ड र भवन संहिता अनुकूल भएमा नक्सा पास दस्तुर बुझाउन राजश्व डेस्कमा पठाइने छ। त्यसपछि सम्बन्धित नक्सावाला व्यक्तिले महानगरपालिकाले तोकेको बैंक खातामा तोकिएबमोजिमको नक्सापास दस्तुर बुझाउनु पर्नेछ। नक्सा पासका लागि बुझाउनु पर्ने पैसा सेवाग्राहीको मोबाइलमा एसएमएस गरिने उनले जानकारी दिए। नक्सा पास दस्तुर बुझाएपछि नक्सा दर्ता भई राजश्व डेस्कबाट थप कामका लागि वार्ड डेस्कमा पठाइने छ। नक्सा दरखास्त दर्ता गरेको मितिले सामान्यतः नक्सा स्वीकृत भई अनुमति दिन एक महिनाको समय लाग्ने छ।नक्सा पास भएको जानकारी पनि सेवाग्राहीले एसएमएसमार्फत नै पाउने छन्।

नक्सा बनाउन आवश्यक कागजात
जग्गा धनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि १ प्रति।
चालु आर्थिक वर्षसम्मको मालपोत तिरेको रसिदको प्रतिलिपि र साविकको भवन भएको जग्गामा नयाँ भवन।
बनाउन वा तला थप गर्न नक्सा पेस गर्ने भए सम्पत्ति कर समेत तिरेको रसिदको प्रतिलिपी १ प्रति।
जग्गाधनी दर्ता प्रमाण पुर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि १ प्रति।
कित्ता नम्बर स्पष्ट भएको नापीको प्रमाणित नक्सा १ प्रति।

पास गरिने नक्सा (डिजाइनर र नक्सावालाको हस्ताक्षर सहित) ३ प्रति।
डिजाइनरको इजाजतपत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालावाट १ प्रति)।
मञ्जुरीनामा लिई भवन निर्माण गर्ने भएमा नक्सावालाले सम्बन्धित वडा अध्यक्ष वा तोकिएको सदस्यको वा कानुन महाशाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल १ प्रति।
भवन निर्माण हुने जग्गामा पुग्ने बाटो प्रष्ट नभएमा बाटो प्रमाणित हुने गरी वडा कार्यालयको सिफारिस।
गुठीको जग्गा भए बाटोका लागि कित्ताकाट नहुने तर फिल्डमा वाटो भए गुठीको सिफारिस १ प्रति।
जग्गा कुनै निकायमा धितोको लागि सुरक्षण राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र १ प्रति।

गुठीको जग्गा भए गुठीको स्वीकृती पत्र र नक्सावाला मोही भएमा जग्गाधनीको र जग्गाधनीले भवन निर्माण गर्ने भएमा मोहीको मञ्जुरीनामा १ प्रति।
नक्सावाला आफू उपस्थित हुन नसक्ने भएमा घरको कुनै सदस्य वा कानुन बमोजिमको अधिकारप्राप्त व्यक्तिको प्रमाणित नागरिकताको प्रतिलिपि आवश्यक पर्छ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार