• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

भारतलाई हराउने नेपालको तयारी


काठमाडौं दक्षिण एसियाली उपमहाद्विपमा हुने सबै खेलकुद प्रतियोगितामा भारतको प्रभुत्व अरु देशको सफलतामा बाधक बन्दै आइरहेको छ।पछिल्लो समयमा खेलकुद लाई भारतले दिएको प्राथमिकताको नतिजा मैदानमा देखिन थालेको छ । दक्षिण एसियाली क्षेत्रका अरु टिमका लागि भारतलाई हराउनु नै सबैभन्दा ठूलो सफलताका रुपमा मापन गर्न थालिए

को छ ।अबको एक महिनापछि साफ महिला च्याम्पियनसिपको छैठौं संस्करण काठमाडौंमा सुरु हुनेछ । साफका लागि नेपाल टिम प्रशिक्षणको जिम्मा कुमार थापाले पाएका छन् । यो पदमा उनको यो दोस्रो कार्यकाल हो ।सन् २०१६ मा आयोजित चौथो संस्करणमा कुमार थापा प्रशिक्षित नेपाल टिमले सेमिफाइनलमा भारतसँगै हारेको थियो । सन् २०१० मा सुरु भएको साफ महिला च्याम्पियनसिपका अन्य चार संस्करणमा नेपाल फाइनलमा भारतसँगै पराजित भएको छ ।‘भारतलाई हराउने ब्रह्मास्त्र छैन’आसन्न प्रतियोगितामा नेपालको प्रमुख लक्ष्य नै भारतविरुद्ध राम्रो नतिजा ल्याउनु हुनेछ । भारतको भूत हटाउने जादू त प्रशिक्षक थापासँग छैन तर, खेलाडीको अनुभव, प्रशिक्षण टिमको मिहिनेत र घरेलु मैदानको फाइदाले भारतलाई माथ दिनसक्ने अपेक्षा उनले गरेका छन् ।नेपालले साफलक्षित तयारी सुरु गरेको दुई साता भयो । त्योभन्दा अगाडि यही टिमले एसियाली खेलकुदका लागि डेढ महिना विशेष प्रशिक्षण गरेको थियो । प्रशिक्षक थापाका अनुसार यसपल्ट टिममा सकारात्मक परिवर्तन र स्तरोन्नति देखिएको अनुभव सुनाउँछन् ।

‘सन् २०१३–२०१४ मा डेब्यू गरेका खेलाडी टिममा छन् । उनीहरु अनुभवी भइसकेका छन् । खेल्ने तरिका र खेलका बारेमा सोच्ने तरिका पनि फरक छ,’ अनलाइनखबरसँगको कुराकानीमा थापाले भने, ‘त्यो मात्रै होइन, नेपाली खेलाडीलाई सधैं भारतसँग हारेको पीडा पनि छ । त्यो इखले पनि यस पटकको खेलमा केही परिर्वतन हुनेछ ।’एउटै टिमसँगको लगातार हारबाट खेलाडीमा नकारात्मक सोच बढ्न नदिन मनोवैज्ञानिक प्रशिक्षणलाई पनि ध्यानमा राखिएको थापाले बताएका छन् । ‘मनोविदलाई बोलाएर खेलाडीको क्लास लिनेबारे सोचिरहेका छौं,’ उनले थपे ।खेलको स्तर भनेको लगानीमा भर पर्ने कुरा हो । पछिल्लो पटक भुटान श्रीलंका तथा बंगलादेश र भारतले महिला फुटबलमा गर्ने लगानी निकै नै राम्रो छ ।

‘यस प्रतियोगितामा भारत मात्रै नभएर हरेक टोली नै हाम्रो लागि उत्तिकै बलियो प्रतिस्पर्धीे हुन् । खेल अगाडि यस्तो गर्ने, त्यस्तो गर्ने भनेर जतिसुकै भने पनि खेल्ने खेलाडीले मैदानमा हो । त्यसैले खेलअघि यो कमजोर भनेर सजिलै आँक्ने अवस्था छैन,’ प्रशिक्षक थापाले भने ।पाँच वर्ष नेपालको राष्ट्रिय टिमबाट खेलेका मिडफिल्डर थापालाई पनि प्रशिक्षकका रुपमा आफूलाई प्रमाणित गर्ने यो दोस्रो अवसर हो । एएफसी ए लाइसेन्स प्रशिक्षण कोर्ष पूरा गरेका उनले भने, ‘यो मेरो लागि दोस्रो जीवन हो । एकपटक नराम्रो नतिजा आएपछि फेरि आफूलाई सावित गर्ने अवसर पाएको छु । यसमा म र मेरो टोलीले राम्रो नतिजा ल्याउन योजनावद्ध रुपमा काम गरिरहेको छ ।’२०१० देखि उपाधि नजितेको पीडा कम गर्ने अवसर नेपाली टोलीको पाएको छ । यसपल्ट खेलाडीमै उपाधिको अठोट पाएको थापाले महशुस गरेका छन् ।

नेपाली महिला टोली चैतमा लिग खेलेर बसेको हो । भरतपुरमा भएको लिगपछि २ महिनाको अन्तरालमा एसियाडको लागि भनेर जेठ २४ गते सुरुवाती चरणमा ४० खेलाडी बोलाएर प्रशिक्षणमा राखियो । एसियाड सरेपछि एक महिनामै उनीहरुको प्रशिक्षण बन्द गरियो ।भदौको २१ गतेबाट असोज ३ गतेसम्म आयोजना हुन लागेको साफका लागि सुरुमा ५८ जना छानिएको थियो । त्यो प्रारम्भिक टोलीबाट २३ खेलाडी घटाएर ३५ जनाले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षक थापाले भने, ‘खेलाडीहरु लिग सकेर बसेका थिए । लिग सकेको केही महिनामा एसियाडको तयारीमा १ महिना बसे त्यसपछि साफको तयारीमा जुट्दा उनीहरु लयमा छन् ।’

यो संस्करणमा प्रतिस्पर्धीका रुपमा दक्षिण एसियाका ७ वटा राष्ट्र छन् । जसमा नेपाल रहेको समुह ‘बी’ मा श्रीलंका र भुटान छन् । समुह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।नेपाल तुलनात्मक रुपमा सहज समूहमा भए पनि सेमिफाइनलअघि पर्याप्त म्याच अनुभव नहुनुलाई प्रशिक्षकले घाटाका रुपमा हेरेका छन् । ‘हामीले समूहचरणमा एक खेल जित्नेवित्तिकै सेमिफाइनल पुग्छौं तर, सेमिफाइनल र फाइनलमा बलिया प्रतिस्पर्धीको सामना गर्नुपर्दा नेपाललाई प्रतिस्पर्धात्मक हिसाबले गाह्रो भने पक्कै हुनेछ ।’

नेपालको बलियो पक्ष घरेलु मैदान
नेपालको लागि निकै बलियो पक्ष हो घरेलु मैदान । जम्मा ६ हप्ताको तयारी लिएर ठूलो प्रतिस्पर्धामा उत्रिन लागेको नेपालका लागि घरेलु दर्शकको साथ तथा घरेलु मैदान नै हुनेछ । ‘नेपालको सबैभन्दा बलियो पक्ष नै घरेलु मैदान हो । हामीलाई वातारण राम्रो छ’, थापा भन्छन्, ‘नेपाली दर्शकको माया हुनेछ । खेलिरहेको मैदान र वातावरण हुनेछ । यो हाम्रो सबैभन्दा बलियो पक्ष हो ।’नेपाली दर्शकको अगाडि खेल्दा खेलाडीले आफ्नो छाप र महिला फुटबलको छाप देशव्यापी रुपमा कस्तो छोड्ने भन्ने कुरा पनि भर पर्ने थापाले बताए । ‘नेपाली मैदानमा नेपाली दर्शकलाई खुसी बनाउने प्रयास रहनेछ । खेलाडीका लागि पनि यो एक राम्रो मौका हो । पहिचान बनाउने, हामी खेल जितेर नेपाली दर्शकलाई खुसी बनाउने छौं ।’

कमजोर संरचना र अन्तर्राष्ट्रिय एक्सपोजरको अभाव
दक्षिण एसियाली महारथी भारतजस्तो स्तरीय टिमलाई हराएर साफ महिलाको उपाधि जित्नु नेपालका लागि सबैभन्दा कठिन लक्ष्य हो । घरेलु फुटबलको संरचना र महिला फुटबलमाथिको लगानी नै नेपालको स्तर माथि उठ्न नसक्नुको प्रमुख कारण भएको थापाको बुझाइ छ ।पालमा उमेरसमूहको नियमित प्रतियोगिता छैन । राष्ट्रिय लिग आयोजना पनि छोटो र अनियमित छ । नयाँ खेलाडी उत्पादन न्यून छ । विभागीय टिम पनि नहुने हो भने महिला फुटबलको अस्तित्व नै संकटमा पर्ने थापा बताउँछन् ।

नेपाली महिला फुटबल पछाडि परेको प्रमुख कारण नै संरचनात्मक विकासको अभाव हो । उमेर समुहको खेल छैन, खेलाडी जर्गेनामा ३ विभागीय टोलीमै निर्भर रहनुपरेको छ,’ प्रशिक्षक थापाले भने, ‘अहिले पनि नेपालमा ४० जना महिला खेलाडी निकाल्न पनि बडो मुस्किल पर्छ । प्रतियोगिता नै नभएपछि खेलाडीको पहिचान कसरी हुन्छ र ?’

प्रमुख प्रशिक्षक थापा विभागीय क्लब एपीएफको पुरुष टोलीका प्रशिक्षक हुन् । एपीएफमा रहेर महिला फुटबललाई नजिकबाट देखेका उनले प्रतियोगिताअघि खेलाडी छानेर प्रतिस्पर्धात्मक टिम बनाउन नसकिने बताउँछन् । ‘नेपालमा ठूला प्रतियोगिताको मुखमा आएर खेलाडी छान्नु नै गलत हो । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा आएका खेलाडीको अनुभवले नै राष्ट्रिय टोलीलाई बलियो बनाउने हो तर नेपालमा यस्तो छैन,’ उनले गुनासो गरे ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार