• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

माओवादी लाई एमालेको ६० / ४० को ‘प्रस्ताब’


आम निर्वाचनमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल गरेर जाने सहमतिसँगै सिटको भागबण्डा गर्न कार्यदल समेत बनिसकेकोछ।तर,नेकपा एमाले भने सत्ता गठबन्धन भत्काउने प्रयत्नमा निरन्तर लागिपरेको छ । सोही रणनीति अनुसार एमाले ले सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रलाई आफूतिर तान्ने प्रयत्न गरिरहेको हो । माओवादीसँग

६०/४० प्रतिशतका आधारमा सिटको भागवण्डा गरेर भएपनि एमालेतिर तान्नुपर्ने दवाव पार्टीभित्र बढ्दै गएको छ । उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले केही दिनअघि मात्रै गठबन्धन भत्काउन अन्तिम समयसम्म एमालेले प्रयास जारी राख्ने बताएका थिए । सोही अनुसार आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा पाँच दलीय गठबन्धनमा भन्दा बढी सिट दिएर भएपनि माओवादीलाई एमालेतिर तान्न अध्यक्ष केपी ओलीमाथि नेताहरुले चर्को दवाव दिएका हुन् ।ओलीले पाँच दलविरुद्ध एमाले एक्लै लड्न काफी भएको भन्दै अभिव्यक्ति दिने गरेपनि भित्री रुपमा एमालेकै दोस्रो तहका नेताहरु माओवादीसँग सहकार्यको नीतिबाट पछि हटेका छैनन् । पाँच दलीय गठबन्धनमा सीट बाँडफाँटका लागि कार्यदल बनिसकेपछि पनि एमालेलाई माओवादीसँग ६०/४० प्रतिशत भागवण्डा गर्न कुनै समस्या नहुने भन्दै ओली निवास बालकोटमा धाइरहेका छन् ।

‘हामीले केपी कमरेडलाई ६०/४० प्रतिशतका आधारमा एमाले माओवादी भागवण्डा गरौं भनेर धेरै पटक प्रस्ताव गर्यौँ । अहिले पनि भनि राखेका छौँ । तर, केपी कमरेडले विश्वस्त आधार खोजेर मान्नु भएको छैन’, एमालेका एक पदाधिकारी भने । ती पदाधिकारीका अनुसार एमाले–माओवादी ६०/४० भागवण्डा गरेर आधा आधा कार्यकाल प्रधानमन्त्रीमा सहमति गरेर भएपनि तालमेल गर्नुपर्ने पार्टीका दोस्रो तहका नेताहरुको जोड छ । तर, ओली प्रचण्डबीच यस्तो तालमेल गर्न विश्वासको वातावरण बन्न नसक्दा तालमेलले सार्थकता पाउन नसकेको ती पदाधिकारीको दाबी छ ।‘जतिसुकै ठुला कुरा गरेपनि पाँच दलविरुद्ध एमाले लड्न गाह्रै छ । सजिलो छैन’ ती पदाधिकारीले भने, ‘तर, जनमतमा एमाले अझै बलियो भएकाले पहिलो वा दोस्रो दल निश्चित बन्छ भन्ने विश्वास छ ।’

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एमालेले सहकार्य गरेर धेरै फलिफाप नहुने एमाले दोस्रो तहका नेताहरुको बुझाइ छ । माधव नेपालसँग एकता वा सहकार्य नगर्दा पनि सो पार्टीका अधिकाश नेता कार्यकर्ता मूलघर (एमाले)मै फर्किने विश्वास रहेकाले नेपालसँगको सहकार्यमा भर नगरेको एमाले नेताहरुको भनाइ छ । माओवादी अध्यक्ष प्रचण्डसँगै छलफल गरेर वाम तालमेल गर्नुपर्ने एमाले दोस्रो तहका नेताहरुको दवाव अध्यक्ष ओलीमाथि बढाएपनि स्थानीय तह चुनावमा राम्रो जनमत पाएकाले प्रदेश र प्रतिनिधि सभाको नतिजा पनि एमालेकै पक्षमा हुन्छ भनेर ओलीले कार्यकर्तालाई हौस्याउने गरेका छन् ।

स्थानीय चुनावमा पाँच दलीय तालमेल थोरै स्थानमा भएकाले एमालेले फाइदा लिएको थियो । मंसिर ४ को चुनावमा भने एमालेलाई स्थानीय चुनावको जस्तो सहज हुने देखिएको छैन । केन्द्रबाटै तालमेल हुने भएकाले एमालेलाई पाँच दलका विरुद्ध जितेर नतिजा ल्याउन गाह्रो हुने भएकाले ओलीले भनेजस्तो नतिजा नआउने दोस्रो तहका नेताहरुको रिपोर्टिङ छ ।उता माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत एमालेसँगै तालमेल गरेमा दीर्घकालिन हुने भन्दै निरन्तर संवादमा छन् । ‘एमालेसँग जतिसुकै ठुलो मतभेद भएपनि वैचारिक र सैद्धान्तिक रुपमा मिल्ने काँग्रेसभन्दा एमाले नै हो । एमालेसँगै सहकार्य गरेमा पार्टीको वैचारिक उद्देश्यपनि पुरा हुन्छन्’ एक माओवादी स्थायी समिति सदस्यले भने,‘हामी एमाले विरोधी होइनौँ केपी ओली प्रवृत्तिका विरोधी हौँ । एमाले सिङ्गो नेतृत्व तयार भए तालमेल गर्न कुनै समस्या हुँदैन ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार