• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

होहल्ला भएपछि ओलीले २० मिनेटमै टुङ्ग्याए भाषण


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली घण्टौँ भाषण गर्ने सामर्थ्य राख्छन् । उनले भाषण गर्न थालेपछि प्रायले चासो मानेर पनि सुन्छन् । तर, मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीलेबोल्न थालेपछि कार्यक्रममा सहभागीहरू खाजा खानतिर लागेपछि उनले आफ्नो भाषण २० मिनेटमै टुङ्ग्याए।विश्व सामुदायीक वनदिवसका अवसरमा सामुदायीक

वन उपभोक्ता महासंघले काठमाडौंमा गरेको कार्यक्रममा वन उपभोक्ता महासंघका पदाधिकारी, पुर्व पदाधिकारी र वनमन्त्री प्रदीप यादवले बोलेपछि प्रमुख अतिथिका रुपमा अध्यक्ष ओलीलाई आयोजकले बोल्न समय दिएका थिए । तर ओलीले बोल्न सुरु हुनासाथ सहभागीहरू कार्यक्रम लामो भएको भन्दै होहल्लासहित खाजा खान थालेपछि एकछिन ओली समेत छक्क परेका थिए । एकछिन बोल्न रोकिएका ओलीले दर्शक दीर्घमा हेर्दै के भएको ? भनेर जिज्ञासा राखेका थिए ।

ओलीको जिज्ञासामा आयोजकमध्ये कसैले ‘कार्यक्रम लामो भयो, भोक लाग्यो भन्दै सहभागीहरू उठेको’ जनाउ दिए । त्यसपछि ओलीले शान्त हुन आग्रह पनि गरे । तर ओलीको आग्रह सवैले सुनेन् । तैपनि ओलीले आफ्नो मन्तव्य जारी राखे । ओली बोल्न थालेको करिव २० मिनेटसम्ममा उनले वनपैदावार र त्यसबाट हुने फाइदाबारे व्याख्या गरे । त्यतिसम्म पनि हल्ला नरोकिएपछि र सहभागीहरू खाजातिरै केन्द्रीत भएपछि ओलीले कार्यक्रम लामो हुँदा धेरैलाई पट्यार लाग्न सक्ने भन्दै आफ्नो मन्तव्य सकाएको घोषणा गर्दै कार्यक्रममा सम्मानित भएकाहरुलाई बधाई ज्ञापन गरे ।

प्राय: यस्ता सार्वजनिक कार्यक्रममा राजनीतिलाई छोएर भाषण गर्ने ओलीले मंगलबारको कार्यक्रममा कुनैपनि राजनीतिक शब्द समेत उच्चारण गरेनन् । बरु ओलीले वनस्पति विनाको मानव जीवन कल्पना गर्न नसकिने बताए । ‘वनस्पति विनाको मानव जीवन कल्पना गर्न पनि सकिदैन । वनस्पति अभावमा अक्सिजन न्युन हुँदैजान्छ । अक्सिजन नहुँदा जलचर, थलचर, उभयचर पनि मान्दैनन्’, ओलीको भनाइ छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले सामुदायिक वन व्यवस्थापनमा नेपाल विश्वकै उत्कृष्ठ रहेको बताए । उनले नेपालको वनमध्ये ४० प्रतिशत वन समुदायमार्फत व्यवस्थापन भएको भन्दै वातावरण, जैविक विविधता, भूक्षय रोकथाममा समेत सामुदायिक बनले महत्वपुर्ण भुमिका खेलेको तथा ठुलो संख्यामा रोजगारीका लागि सहयोग पुर्याएको बताए । दिवसका अवसरमा महासंघले काठमाडौंस्थित रानीवारी सामुदायीक वन र काभ्रेस्थित कुशादेवी धारापानी सामुदायीक वनलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार