• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

लुम्बिनीमा कर्मचारी नियुक्तिमा मनपरी: मेयरका छोरा, ज्वाइँ र अधिकृतको सालोलाई नगरपालिकामा जागिर


करारमा भर्ना गरे पनि वर्षौंदेखि नगरपालिकामा कार्यरत कर्मचारी हटाएर मेयर र अधिकृतका आफन्तलाई भर्ना गरिएपछि रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मा विवाद सिर्जना भएको छ। नगर प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले कुनै प्रक्रिया पूरा नगरी नियमविपरीत पुराना कर्मचारीलाई हटाउने र आफन्त र

आफू निकटका कर्मचारीलाई भर्ना गरेपछि विवाद उत्पन्न भएको हो।नगर उपप्रमुख कल्पना हरिजनलगायत बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्ना छोरा, ज्वाइँ र सालोलाई भर्ना गरेर कर्मचारी नियुक्तिमा मनपरी गरेको बताएका हुन्।हरिजनले गत असार ३० गतेको नगर सभामा कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने विषयमा कुनै प्रस्ताव र छलफल समेत नगरी असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय भन्दै साउन १ गतेदेखि पुराना ९ जना करारका कर्मचारी हटाएर कुनै प्रक्रिया समेत पूरा नगरी साउन १५ गतेदेखि १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन्।

तर असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार कर्मचारी हटाउने र भर्ना गरिएको भए पनि ३० गतेको नगर सभापछि कार्यपालिका बैठक नबसेको र त्यस्तो कुनै पनि निर्णय नगरिएको हरिजनले दाबी गरिन्।हरिजनका अनुसार नयाँ भर्ना गरिएका १३ जना कर्मचारीमा नगर प्रमुखका छोरा जमिल अहमद खान, नातिनी ज्वाइँ जावेद आलम र प्रमुख प्रशासकीय अधिकृतका सालो विभास त्रिपाठी समेत रहेका छन्।खानलाई प्राथमिक स्वास्थ्य चौकी लौकापुरमा अहेव पदमा, आलमलाई असिस्टेन्ट सव इन्जिनियर र त्रिपाठीलाई कम्प्युटर अपरेटरमा नियुक्त गरिएको छ।

यसअघि २०७४ सालदेखि नगरपालिकामा कार्यरत इन्जिनियर राजेश कोहार, आइटी अफिसर रुद्र पुरीलगायत ९ जना कर्मचारीलाई भने बिनाजानकारी साउन १ गतेदेखि नगरपालिकाबाट हटाइएको भन्दै हाजिर गर्न दिइएको छैन।उपप्रमुख हरिजनले सेवा करारका पुराना र अनुभवी कर्मचारीलाई हटाएर बिनाप्रक्रिया योग्यता समेत नपुगेका कर्मचारीलाई भर्ना गरी नगरपालिकाको कामलाई नै प्रभावित गर्ने काम गरेको बताइन्।‘प्रमुख प्रशासकीय अधिकृत र मेयरले पुराना कर्मचारीलाई बिनाप्रक्रिया हटाएर आफ्ना छोरा, ज्वाइँ र सालालाई नियुक्ति दिनुभएको छ,’ हरिजनले भनिन्।

हरिजनले आफूअनुकूल काम नगरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नगरपालिकाका कतिपय प्राविधिक र स्वास्थ्यका कर्मचारीलाई समेत वडा सचिवमा खटाउने गरेको बताइन्।अधिकृत पाण्डे कार्यालय समयमा अनुपस्थित हुने र रातिको समयमा नगरपालिकामा गई हाजिर गर्ने र नियमविपरीत निर्णय गर्ने गरेको उनको आरोप छ।हरिजनका अनुसार पाण्डेयले आफू बिदामा रहँदा निमित्त प्रशासकीय अधिकृत दिएका रचना गौतम पाण्डेलाई आफूले भने बमोजिम काम नगरेको भन्दै वडा नं. ७ र ८ को सचिवमा खटाएका छन्।गत साउन २० गते आफू बिदामा बसेको र निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी पाण्डेलाई अधिकृत पाण्डेयले सोही दिनको निर्णय भन्दै दुइटा वडाको सचिवमा खटाएका हुन्।

त्यस्तै, सोही दिन नै नगरपालिकाका योजना प्रमुख दामोदर पाण्डेलाई पनि वडा नं. १० को सचिवमा खटाएका छन् भने स्वास्थ्यका कर्मचारीलाई पनि वडा सचिव बनाएर खटाएका छन्।
भगवानपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी शिव शंकर मल्लाहलाई वडा नं. १३ र तेनुहवा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी राजेन्द्र यादवलाई वडा नं. ११ को सचिवमा खटाएका छन्।नगर उपप्रमुख हरिजनले आफू अनुकूल काम नगर्ने कर्मचारीहरूलाई पूर्वाग्रह साँधेर अन्यत्र पठाउने गर्दा कर्मचारीहरूको मनोबल घट्ने र डर त्रास बढ्ने गरेको बताइन्।२० गते राति कार्यालयमा उपस्थित भई कर्मचारी अन्यत्र पठाउने निर्णय गरेका पाण्डेयले सूचना अधिकारी अशोक पाण्डेलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर त्यसयता कार्यालयमा उपस्थित भएका छैनन्।

प्रमुख प्रशासयिक अधिकृत, जनप्रतिनिधि र अन्य कर्मचारीहरूका बीचको विवाद बढ्दै गएपछि गत साउन १५ गते पाण्डेयलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पाल्पाको रामपुर नगरपालिकामा सरूवा गरिएको पत्र आएको भए पनि त्यसलाई पनि अटेर गर्दै आएको उपप्रमुख हरिजनले बताइन्।अहिले कर्मचारी नियुक्तिमा मनपरी गरेको भन्दै नगरपालिकामा कार्यरत पुराना कर्मचारीले कामकाज ठप्प पारेका छन्।नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अशोक पाण्डेले नियमविपरीत कर्मचारी हटाउने र नियुक्त गरेको भन्दै कर्मचारीहरूको गुनासो आएकोले लिखित रूपमा नै नगर प्रमुखलाई जानकारी गराइएको बताए।

‘कर्मचारीहरूमा केही डरत्रास सृजना भएको छ, यसलाई समाधान गरी भयरहित रूपमा काम गर्ने वातावरण मिलाउन भन्दै नगर प्रमुख र उपप्रमुखलाई लिखित रूपमै निवेदन दिएका छौं, आशा छ त्यसमाथि सम्बोधन हुने छ,’ पाण्डेले भने।प्रशासकीय अधिृकत पाण्डेयले आफ्नो सालो विभास त्रिपाठीलाई कम्प्युटर अपरेटरमा नियुक्ति गरेको स्वीकार गरे पनि अरू विषयमा भने आफ्नो बदनाम गराउन आफूमाथि आरोप लगाइएको बताए।

‘कर्मचारी राख्दा कसको के नाता पर्छ भन्ने भन्दा पनि योग्यता पुगेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण कुरा हो, उपमेयरले आफ्ना मान्छेलाई जागिरमा राख्न मलाई दबाब दिनुभएको थियो त्यो पूरा नभएपछि ममाथि आरोप लगाउनुभएको हो,’ उनले सेतोपाटीसँग भने।प्राविधिक कर्मचारीलाई समेत वडासचिवमा सरूवा गरिएको विषयमा भने प्रमुख प्रशासकीय अधिकृतले कतिपय वडाहरूमा वडासचिव नभएर सेवाग्राहीका कामकाज ठप्प हुने अवस्था भएपछि पठाइएको बताए।

‘प्राविधिक कर्मचारीलाई वडा सचिवमा खटाउँदा मलाई पनि अप्ठ्यारो लागेको हो, तर सेवाग्राहीको समस्यालाई हेरेर पठाउने निर्णय गरेको हो,’ पाण्डेयले भने।नगरपालिकामा कर्मचारी हटाइएको र छोरा र ज्वाइँलाई नियुक्ति दिइएको विषयमा नगरप्रमुख सजरुद्दिन मुसलमानले भने आफू बैठकमा रहेको भन्दै केही बोल्न चाहेनन्।‘म अहिले लुम्बिनीमै एउटा बैठकमा छु, अहिले यस विषयमा म केही बोल्दिनँ,’ उनले भने।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार