• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

‘कुकुर कामी’ ले दिए प्रशासनमा अपमानजनक नाम सच्याउन माग गर्दै निवेदन


दैलेख नेपाली नागरिकतामा ‘कुकुर कामी’नाम उल्लेख गरिएका कविराम कामीले नाम सच्याउन माग गर्दै निवेदन दिएका छन्।भगवतीमाई गाउँपालिका-३ मेहेलतोलीका ६२ वर्षीय कविरामले मंगलबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्। प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर दिएको निवेदनमा उनले कविराम कामी उल्लेख गरी नागरिकताको

प्रतिलिपि दिन आग्रह गरेका छन्। कविरामले वडा कार्यालयको सिफारिस, आवश्यक कागजातसहित प्रक्रिया पुर्‍याएर निवेदन दिएका हुन्। २०४६ जेठ ७ गते गाउँमा पुगेको नागरिकता टोलीले ‘कुकूर कामी’ नाम राखेर उनलाई नेपाली नागरिकता थमाएको थियो। २०१७ पुस २५ मा जन्मिएका उनले नागरिकता टोलीसँग आफ्नो नाम कविराम कामी बताए। तर, नागरिकतामा लेखियो ‘कुकुर कामी’। उनले नागरिकतामा भएको नामकै कारण वर्षौदेखि आफूमात्र होइन परिवार नै लज्जित र अपमानित हुनुपरेको बताए। ‘मैले नागरिकता टोलीसँग मेरो नाम कविराम कामी हो भनेर जानकारी गराउँदा-गराउँदै टोलीले कुकुर कामी भनेर नागरिकता दिएछन्। गाउँ समाजका जान्ने बुझ्नेहरूले भनेपछि आफ्नो नागरिकतामा नाम कुकुर लेखिएको भन्ने थाहा पाएँ। म त अशिक्षित मान्छे त्यतिबेला प्रतिवाद पनि गर्न सकिन’, उनले भने। अब नाम सच्चाएर नागरिकता पाउने आश पलाएको कविरामले बताए। ‘अब कविराम कामी लेखिएको नागरिकता पाउँछु होला, म त औधी खुसी छु मेरा सन्तान पनि खुसी हुनेछन्,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सबै प्रक्रिया पुर्‍याई नाम सच्चाएर नयाँ नेपाली नागरिकताको प्रमाणपत्र दिइने बताए। ‘अब प्रक्रियामा अघि बढेको छ, केही दिनमै नयाँ नागरिकताको प्रतिलिपि उपलब्ध गराउँछौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने।उनले नेपाली नागरिकतामा अपमानजनक शब्द प्रयोग भएकै कारण समाजमा हिनताबोध गरेका व्यक्तिहरूले सम्बन्धित प्रमाणपत्र र वडा कार्यालयको सिफारिस सहित प्रक्रिया पुर्‍याएर जिल्ला प्रशासनमा सम्पर्क गर्न समेत आह्वान गरेका छन्।कुकूर कामीसहित दलित समुदायका अन्य व्यक्तिहरूको नागरिकतामा अपमानजनक शब्द उल्लेख गरी नागरिकता दिइएको विषयमा अन्नपूर्ण पोस्ट् दैनिकले साउन १७ गते समाचार प्रकाशन गरेको थियो। त्यसयता संघीय संसदमा समेत सांसदहरू तथा अधिकारकर्मीहरूले यस्ता नाम सच्याउनुपर्ने माग गरेका थिए।

सोमबार गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गरेको परिपत्रमा भनिएको छ ‘अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्चाउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्चाउने व्यवस्था मिलाउनु।’

गृहले नागरिकतामा अपमानजनक शब्द उल्लेख गरेर प्रमाणपत्र जारी नगर्नसमेत निर्देशन दिएको छ। गृहको यो निर्देशनसँगै कविरामसहित नेपाली नागरिकतामा अपमानजनक नाम उल्लेख भएका देशभरका अन्य नागरिकहरूको नाम सच्चिने अधिकारकर्मीहरू बताउँछन्। समाजमा संस्कारका नाममा खराब नाम राख्ने चलनका कारण कविराम मात्रै होइन धेरै दलित समुदायले यस्तो पीडा अझै भोगिरहेका छन्।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार