• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

फोहोर उठाउन महानगर नै निरिह,नाक छोपेरै हिड्न सुझाव


काठमाडौँ —काठमाडौँ महानगरको फोहोर पर्याप्तमात्रामा उठ्न सकिरहेको छैन । जसका कारण राजधानीको ठाउँ ठाउँमा फोहोरको डंगुर देखिन्छ । राजधानी शहरलाई सफा र स्वच्छ बनाउँने जिम्मेबार निकाय महानगर यसविषयमा लाचार बनेको छ।नेकपा एमालेका नेता डा.भीम रावलले भनेजस्तै काठमाडौँको फोहोरले राज्य संरचनाको प्रतिनिधित्व गरिरहेको

छ ।एकातर्फ राजनीतिको फोहोर छताछुल्ल अवस्थमा छ भने अर्कातर्फ महानगरमा फोहोरको डंगुरछ । काठमाडौँको फोहोरले महानगर र राज्य कतिसम्म निकम्मा र क्षमताहीन छ भन्ने दस्र्याउँछ ।काठमाडौँमा दिनहुँ कयौं झण्डाबाला गाडीहरु महानगरको सडकमा हुईकिन्छन् । तर उनीहरुलाई फोहोरको पहाड देख्दा पनि कुनै हीनताबोध छैन । चिल्लो गाडीभित्र मगमग बसाउने अत्तर छर्केर हिड्ने उनीहरुका लागि यस्ता फोहोरको डंगुरले कुनै वास्ता नै राख्दैन ।फोहोर व्यवस्थापनको जिम्मा पाएको महानगरले फोहोर उठाइरहेको दावी गर्दा महानगरको अधिकांश स्थानमा अझै पनि फोहोरको थुप्रो देखिन्छ । दैनिक जति फोहोर उठ्नुपर्ने हो त्यति पर्याप्त मात्रामा उठिरहेको छैन । राजधानीमा फोहोरले तल्लातल्ला बनाइरहँदा यसको व्यवस्थापनमा महानगरले भने निरिहता प्रकट गरिरहेको छ ।

काठमाडौँ वासीहरुले अब महानगरले फोहोर उठाउँछ भन्नेमा नै विश्वास गर्न छोडिसके । उनीहरुलाई नयाँ नेतृत्वबाट पनि आश मरिसक्यो । महानगरमा जीवनयापन गर्नेहरु अब काठमाडौँको फोहोरमै रमाउने बानी पार्नुको कुनै उपाय नरहेको गुनासो गर्छन् ।पछिल्लो घटनाक्रम र महानगरकै कुराले पनि राजधानीको फोहोर तत्काल उठ्ने देखिँदैन । महानगरलाई व्यवस्थित गर्न वर्षदिन जति लाग्ने मेयर बालेन शाहले प्रतिक्रिया दिइरहेका छन् भने सिस्डोल, बञ्चरेडाँडाका बासिन्दाहरुले पनि भदौ १ देखि फोहोर विसर्जन गर्न रोक लगाउने घोषणा गरिरहेका छन् । वर्षौदेखि काठमाडौँको फोहोरलाई अन्यत्र सारेर व्यवस्थापनको नाम दिँदा हामी सबैले पत्याईनै रहेका छौं ।

तर, अहिले त व्यवस्थापनको कुरा छोडौं त्यही फोहोर सार्न पनि महानगर चुकिरहेको छ ।फोहोर उठाउने निकायले के बुझ्नुपर्छ भने फोहोर सारेर मात्रै व्यवस्थापन हुँदैन । त्यसले झन् कयौं समस्या पैदा गर्छ । यता मन्त्रीहुनु भन्दा अघि नै मेयरसँग मिलेर फोहोर व्यवस्थापन गर्छु भनेर प्रतिबद्धता जनाएको शहरी विकास मन्त्री मेटमणी चौधरी कहाँ छन् अत्तोपत्तो छैन ।

मन्त्री चौधरीले ३० दिने उपलब्धी सार्वजनिक गर्दै आफ्नो मन्त्रलय अरु मन्त्रलायभन्दा अब्बल रहेको दावी गर्दै गर्दा फोहोरले मच्चाएको बितण्डामा भने मौन छन् ।यसरी कुरा मात्रै ठूलाठूला गरेर व्यवहारमा नतीजा शुन्य ल्याउने परम्पराले निरन्तरता पाउँदा जनता भने समस्या र फोहोर दुवैको डंगुरमा पिल्सिएका छन् ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार