• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने, स्थानीय तहमा खटिएकालाई सोझै भर्ना


प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा का लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा
सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ

। मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ ।मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सवै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमती दिएपछि म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिन्छ ।

मतदान स्थल र केन्द्र थपिने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा धेरै म्यादी प्रहरी चाहिने प्रहरी ​ प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । उनले भने–‘१ लाखभन्दा धेरै म्यादी प्रहरी आवश्यक हुन्छ, त्यसबारे प्रस्ताव तयार गरेर गृह मन्त्रालयमा पठाउँछौं ।’

स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई सोझै भर्ना गर्नेबारे पनि छलफल भइरहेको छ । स्थानीय तहमा खटिएकाहरुलाई प्रशंसापत्र सहित आए सिधै भर्ना गर्नेबारे छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । उनले भने–‘त्यबसबारे कार्यविधि तयार गरेर गृह मन्त्रालयमा स्वीकृतिका लागी पठाउँछौं ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार