• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जिल्ला अध्यक्ष र इञ्चार्ज एमालेमा प्रवेश गरेसँगै गुल्मीमा रामकुमारी झाक्रीलाई संकट


आसन्न प्रतिनिधि सभा निर्वाचन मा सत्तारुढ गठबन्धन का तर्फबाट गुल्मी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने तरखरमा रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी
झाक्री यतिबेला दोहोरो संकटमा परेकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारी र इञ्चार्ज गणेश खनाल आइतबार एमाले मा प्रवेश गरेसँगै गुल्मी मा

पूर्वमन्त्री झाक्रीका लागि संकट बढेको हो ।एकातिर आफ्नै पार्टीको अवस्था जिल्लामा कमजोर भएका कारण संकट महसुस गरिरहेकी झाक्रीलाई अर्कोतिर पार्टीको कमजोर अवस्थाकै कारण कतै गठबन्धनबाट भागबण्डामा गुल्मी–२ आफूले नपाउने पो हो कि भन्ने चिन्ता स्वाभाविक रुपमा बढेको छ ।गुल्मी नेकपा एमालेको बलियो प्रभाव रहेको जिल्ला हो । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सामेल भएकी झाक्रीको गृह जिल्ला पनि गुल्मी नै हो । त्यसैले उनी यस पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेर गठबन्धनको बलमा एमालेको बर्चश्व तोड्ने उद्देश्यका साथ सक्रिय भएकी छन् ।

तर पार्टीकै प्रभावशाली दुई नेताले उनको साथमात्र छोडेनन्, एमालेमै प्रवेश गरेपछि भने जिल्लाभित्रको राजनीतिक समीकरणमा पनि त्यसले प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ सिटमध्ये एकीकृत समाजवादीले गुल्मी–२ सहित चार सिटमा दाबी गरेको छ । गुल्मी–२ का अतिरिक्त रूपन्देही–२ वा रूपन्देही–१, दाङ–१ र पाल्पा–२ मा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ ।

गुल्मी–२ मा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले दाबी गरेका छन् । हालै नेकपा एकीकृत समाजवादीको जिल्ला नेतृत्व नै एमालेमा समाहित भएपछि कांग्रेस नेताहरुसँग नेकपा एकीकृत समाजवादीको बार्गेनिङ पावर घटेको कतिपयको भनाइ छ ।

२०५१ साल यता एउटा चुनावबाहेक यो क्षेत्रमा एमालेले निरन्तर जित्दै आएको छ । २०६४ सालको चुनावमा माओवादीका चन्द्र थापासँग पराजित भएका एमाले सचिव गोर्कण विष्टले २०५६, २०७० र २०७४ सालको चुनाव जिते । यो क्षेत्रबाट आसन्न निर्वाचनका लागि एमालेका विष्टसहित राजेन्द्र अर्याल, शेषकान्त गौतमको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार