• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेमा १० बुँदे पक्षधर नेताले टिकट नपाउने !


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल भदौ १९ गते रुपन्देहीको क्षेत्रनम्बर २ बाटसर्वसम्मत उम्मेदवार सिफारिस भए। २०६४ साल यताका सबै निर्वाचन जितेका पौडेल
सर्वसम्मत हुनु स्वभाविक थियो।पौडेलसँगै राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईसमेत रुपन्देही ५ बाटसर्वसम्मत सिफारिस भए। जबकी उनको राष्ट्रिय सभाको कार्यकाल झण्डै डेढ वर्ष बाँकी

छ। उनले यसअघि संसदीय निर्वाचन जितेका छैनन्। उनी राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचन लड्ने तयारीमा छन्।रुपन्देही क्षेत्र नम्बर ४ मा कृष्ण भुसाल सर्वसम्मत सिफारिसमा परेका छन्।एमाले स्थायी कमिटी सदस्यसमेत रहेका रुपन्देही क्षेत्र नम्बर ३ का सांसद घनश्याम भुसाल भने सर्वसम्मत सिफारिस हुन पाएनन्। भुसालसँगै सो क्षेत्रबाट ४ जनाको नाम आएको छ। सिफारिस हुनेमा भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसाल छन्।भुसाल क्षेत्र नम्बर १ बाट पनि सिफरिस भएका छन्। भुसालसँगै यो क्षेत्रमा एमाले सचिव छविलाल विश्वकर्माको नाम सिफारिस भएको थियो। यो क्षेत्रबाट विश्वकर्माले २०७४ मा निर्वाचन जितेको हुन्। भुसालको घर पनि क्षेत्र नम्बर १ मै पर्छ र उनी अघिल्लो चुनावमै यही क्षेत्रबाट लड्न चाहान्थे। तर पार्टीले ३ नम्बरमा पठाइदियो।

यसपालि पनि उनको चाहना १ नम्बर क्षेत्रबाटै लड्ने छ। १ नम्बर क्षेत्रीय कमिटीले पठाएको भुसालको नाम जिल्ला कमिटीले भने काटेर विश्वकर्माको नाम मात्रै प्रदेश कमिटीमा पठाएको छ। यसरी एकातिर भुसालले चाहेको र आफ्नो घर भएको क्षेत्रबाट उनको नाम काटिएको छ बने रुपन्देहीबाट सर्वसम्मत सिफारिसमा नपर्नेमा एमालेका उनी एक्ला नेता भएका छन्। कैलालीका तीन क्षेत्रबाट एमालेले २०७४ मा जितेकालाई नै सर्वसम्मत सिफारिस गरेको छ। कैलाली ५ बाट नारदमुनी राना सर्वसम्मत सिफारिस भएका छन्। उनी यही क्षेत्रका निर्वाचित सांसद हुन्। अघिल्लो निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादीको तर्फबाट निर्वाचन जितेका तर एमाले प्रवेश गरेका लेखराज भट्ट पनि सर्वसम्मत भएका छन्। त्यस्तै कैलाली ३ बाट निर्वाचित भएर एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेता गौरीशंकर चौधरी पनि सर्वसम्मत सिफारिस भए। चौधरी र भट्ट दुवैजना एमाले प्रवेश गरेपछि उनीहरुले सांसद पद गुमाएका थिए।

नवप्रवेशीहरु समेत सर्वसम्मत सिफारिस हुँदा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद झपट रावल भने सर्वसम्मत हुन सकेनन्।उनीसँगै कमला वली बुढा र निरुप खड्का पनि सिफारिस भएका छन्।भुसाल र रावल मात्रै होइनन्। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली इतर भनेर चिनिएका अरु नेताहरु पनि सर्वसम्मत हुन सकेका छैनन्। चितवन क्षेत्र नम्बर १ बाट दुईपटक निर्वाचन जितेका उपाध्यक्ष सुरेन्द्र पाण्डे सर्वसम्मत हुन सकेका छैनन्। उनीसँगै जे एन थपलिया पनि सिफारिस भएका छन्।ताप्लेजुङबाट २०७४ मा निर्वाचित एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईलाई अरु चार जनाले चुनौती दिएका छन्।तिलकुमार मेन्याङवो, पासाङ सेर्पा, रामप्रसाद सुवेदी र टङ्क आङवहाङ लिम्बुले पनि दाबी गरेका छन्।

ओलीको संसद विघटनको कदमको विरोध गरेका तर एमालेमै रहेका केही प्रमुख नेता भने भने सर्वसम्मतिबाट सिफारिस भइरहेका छन्। एमाले नेता भीम रावल अछाम क्षेत्र नम्बर १ बाट र पार्टी सचिव गोकर्ण विष्ट गुल्मी २ बाट सर्वसम्मत सिफारिस भएका छन्। त्यस्तै पाल्पा क्षेत्र नम्बर २ बाट ठाकुर गैरे सर्वसम्मत सिफारिस भएका छन्।तर संसद विघटनको विरोध गरेका र अहिले पनि अध्यक्ष ओलीको कार्यशैलीको विरोध गरेका कतिपय नेताहरु यसपालिको निर्वाचनमा टिकट पाउनेमा ढुक्क देखिन्नन्। पार्टीले चुनाव लड्न टिकट दिन्नकी भनेर उनीहरुमा एक किसिमको संशय देखिन्छ।सर्वसम्मत सिफारिस भएपनि रावल स्वयंम आफूले टिकट पाउँछु भन्नेमा ढुक्क छैनन्।

‘जिल्ला किमिटीले सिफारिस गरे पनि यसका विभिन्न आयाम हुन्छन्। त्यसमा के होला मैले हेर्नुपर्ने हुन्छ,’ रावलले सेतोपाटीसँग भनेका छन्, ‘यो विषय निर्णयकर्ताको सोच र विचारमा भर पर्ने कुरा पनि हो। उहाँहरूको सोच र विचार मप्रति के छ भन्ने विषय मलाई जानकारी छैन।’ओलीले गरेको संसद विघटनको प्रखर विरोध गरेका तर एमाले विभाजनको अन्तिम समयमा माधव नेपाललाई साथ नदिइकन १० बुँदे सहमतिको आधारमा एमालेमै रहेका धेरै नेताहरुले आफूलाई असुरक्षित ठानेका छन्। त्यसमाथि निर्वाचन लड्न क्षेत्रबाट सिफारिस हुँदा यीमध्ये धैरै नेता एकल सिफारिसमा नपरेपछि असुरक्षाको त्यो भावना झनै बढेको उनीहरुमध्ये एक नेताले बताए।

‘हामीलाई छानी-छानी सर्वसम्मत नगरिनु संयोग मात्र होइन। यो हाम्रो राजनीति सक्ने खेल पनि हुनसक्छ,’ ती नेताले भने , ‘जित्ने स्थिति रहेसम्म हामीलाई उम्मेदवार नबनाउने संकेत देखिएको छ। यसले हामीलाई भन्दा पनि पार्टीलाई घाटा हुने हो।’एमाले सचिव योगेश भट्टराई भने १० बुँदेका नाममा राजनीति गर्न नमिल्ने बताए। ‘१० बुँदे पक्षधर भनेर भाग खोज्ने र १० बुँदेलाई सक्नैपर्छ भन्ने दुवै प्रवृत्ति पार्टीका लागि हानिकारक हुन्छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेर उपयुक्त व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ।’

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफ्नो विषयमा केही भन्न नचाहने भन्दै पार्टीमा विचारभन्दा तल झरेर गुट र व्यक्तिमा केन्द्रित हुने प्रवृत्ति बढेको बताए।’आजको पार्टीको मुल चरित्र हिजोको जस्तो रहेन। त्यसैले केही भन्न सकिएन। कसले टिकट पाउँछ, किन पाउँछ, कसरी पाउँछ भन्ने अनिश्चित रह्यो,’ उनले भने, ‘पार्टी विचारले भन्दा गुटहरुले निर्देशित रह्यो। जुन-जुन गुट अर्थ राजनीतिक रुपमा शक्तिशाली छन्, उनैले टिकट लगायतमा निर्णय गर्ने भएका छन्।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार