• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

दलहरू संगको भागबण्डा, सैदाबाजीमा हमाललाई मन्त्री बनाएको जबराद्वारा स्वीकार


काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाललाई राजीनामा गराउन लगाएको स्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेताहरूले आफ्नो कुरा नमानी हमाललाई मन्त्री नियुक्त गरेकोले राजीनामा गराउन लगाएको उनले स्वीकार गरेका हुन् । प्रतिनिधि

सभाको महाभियोग सिफारिस समितिको मंगलबारको बैठकमा जबराले हमाललाई मन्त्री बनाउनु पहिला र मन्त्री बनाएपछि कार्यकारी प्रमुखका साथै राजनीतिक दलका नेताहरूसँग छलफलमा रहेको बयान दिएका हुन् । सञ्चारमाध्यममा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‌मा भाग मागेको र त्यसरी मन्त्री हुने व्यक्तिहरूको नाम नै उल्लेख गरिएको प्रकाशित भएपछि आफू प्रधानमन्त्री र गठबन्धनका नेताहरूसँग छलफलमा रहेको उनले स्वीकार गरेका हुन् ।पत्रपत्रिकाहरूमा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग माग्यो र फलानो-फलानो मन्त्री हुँदैछ भनेर आयो । त्यो कुरालाई मैले विज्ञप्तिमार्फत गलत हो, यो होइन भनेर निकाले । त्यसपछि हाम्रो एउटा न्यायाधीश समाजको वार्षिक मिटिङ थियो त्यसमा पनि यस्तो किसिमको (समाचार) आयो, शंका नगर्नुस्, यो झुट्टा छ भनेर मैले भनेँ । त्यसपछि यो प्रश्नहरू निरन्तर आयो । आइसकेपछि सार्वजनिक भएको नामको नै मन्त्री हुँदैछ भन्ने आयो ।

मन्त्री बनाइँदैछ भन्ने नाम आयो । जुन नाम आएको छ त्यो नामलाई प्रधानन्यायाधीशसित टाँसिसक्यो,’ उनले भने, ‘त्यो व्यक्तिलाई मन्त्री बनाउनु हुँदैन, नबनाइयोस् भनेर तत्कालै मैले… अब धेरै यसमा जान्न । सम्बन्धित पदाधिकारीलाई प्रधानमन्त्री…, जसले मन्त्री नियुक्त गर्ने हो, मन्त्री नियुक्त गर्ने ठाउँमा भएका पदाधिकारीहरू हुनुहुन्थ्यो अहिलेको गठबन्धनमा उहाँहरूलाई हार्दिकतापूर्वक अनुरोध गरे तर पनि भयो । भएपछाडि त्यो भोलिपल्ट शनिबारको दिन थियो, मैले फेरि पनि भने यसले त समस्या पैदा भयो नि ! भनिसकेपछि उहाँले राजीनामा दिएर जानुभएछ ।’जबराका जेठान नाता पर्ने हमाललाई असोज २२ गते शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्री नियुक्त गरेका थिए । सार्वजनिकरूपमा र सत्तारुढ गठबन्धनमा नै विवाद भएपछि हमालले २४ गते बिहानै राजीनामा गरेका थिए ।

गजेन्द्र हमाल
आफू मन्त्री बन्दा प्रधानन्यायाधीश जबरा विवादमा तानिएको भन्दै आफूले राजीनामा दिएको हमालले बताएका थिए ।
प्रधानन्यायाधीश जोगाउन मन्त्रीको राजीनामा
बयानका क्रममा जबराले प्रश्न नम्बर ३९ नराखेको भए हुन्थ्यो भन्ने भनाइ पनि राखे । उक्त प्रश्नमा प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोध पश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको उल्लेख थियो । त्यस्तै, राजनीतिक प्रकृतिका अनेकौं संवैधानिक विवादहरू सर्वोच्च अदालतमा विचाराधीन रहेको र यस्ता प्रकृतिका विवादहरू निरन्तर आइरहने तथा कतिपय विवादहरू प्रधानन्यायाधीशकै इजलासले निर्णय सुनाउन बाँकी राखिएको अवस्थामा प्रधानन्यायाधीश र राजनीतिक दलहरूबीच भागबण्डा, सैदाबाजीको कुरा आएर संविधानले प्रत्याभूत गरेको शक्ति सन्तुलन र नियन्त्रणको मूलभूत सिद्धान्त नै समाप्त हुने आशंका बढाएकोबारे जबरासँग समितिले जवाफ मागेको थियो ।

उक्त प्रश्नको जवाफको सुरुमा जबराले भनेका थिए, ‘यो क्रियामा यो प्रश्न नआइदिएको भए हुन्थ्यो । अब यो धेरै कुरो खोल्दा पनि राम्रो हुन्न ।’ प्रश्न आएपछि जवाफ दिनैपर्ने भएको भन्दै उनले हमाललाई मन्त्री नबनाउन र राजीनामा गर्न लगाएको कुरा स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार