• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

भाजपा नेताका स्वकीय सचिव लाइ नेपाली कांग्रेस ले उम्मेदवार सिफारिस गरेपछि ….


काठमाडौं । रामपुर का सन्दीप राना पाल्पा मा जनस्तरमा भिजेका नेता होइनन् । धेरै समय भारत मा बसेका उनको पछिल्लो समय पाल्पामा आउजाउ बढेको थियो।
१४ औं महाधिवेशनमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएका उनी ४ मंसिर मा हुने प्रतिनिधि सभा निर्वाचनमा पाल्पा–१ बाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस भए।

निर्वाचन क्षेत्र स्तरीय समितिले प्राय प्रत्यक्ष र समानुपातिकतर्फ एकै व्यक्तिलाई सिफारिस गर्दैन, तर राना भने दुबैतर्फ सिफारिस हुन सफल भए । समानुपातिकतर्फ त उनी पहिलो नम्बरमै सिफारिस भएका छन् ।पाल्पा–१ का क्षेत्रीय सभापति झमन मगरले सन्दीपकै आग्रह अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाम सिफारिस गरेको बताए । ‘दुबैतिर नाम राख्नुस् भन्नुभयो । त्यसैले प्रत्यक्ष र समानुपातिक दुबैतिर नाम राखेर पठाएको हो’ उनले भने, ‘समानुपातिकमा पहिलो नम्बर र प्रत्यक्षमा चौथो नम्बरमा राखेर नाम पठाएको हुँ ।’रानाको पार्टीमा सक्रियता, योगदानका आधारमा उम्मेदवार सिफारिस हुन योग्य नभएको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् । अझ उनको विगतको भूमिकालाई लिएर जिल्ला तहका नेताहरुले प्रश्न उठाएका हुन् ।एक जिल्ला नेताका अनुसार रानाले आठ वर्ष भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा हालका गृहमन्त्री अमित शाहको स्वकीय सचिवको भूमिकामा रहेर काम गरेका थिए ।

नेपाल विद्यार्थी संघको भारतको अध्यक्षको भूमिकामा रहँदा उनले भारतीय नेताहरुसँगको सम्पर्क बढाएका थिए । दिल्ली विश्वविद्यालयमा अध्ययनरत हुँदा भारतीय जनता पार्टीसँग नजिकिएका थिए । कांग्रेसका शीर्ष नेताहरु दिल्ली गएका बेला भारतीय नेतासँग भेट मिलाउने गरेका थिए । उनले वीपी चिन्तन प्रतिष्ठान भारतको प्रमुख भएर काम गरेका थिए ।भारत रहँदा नेपाली कांग्रेसको उपल्लो तहमा सम्बन्ध विस्तार गरेकै कारण अहिले उनको नाम सिफारिस भएको पाल्पाका कांग्रेस नेताहरु बताउँछन् । ‘भारत भनेपछि माथिल्लो तहकै नेताहरु त शरण पर्दछन् । जिल्लामा आएर म अमित शाहको स्वकीय सचिव भएको मान्छे भनेपछि क्षेत्रका नेताहरु त्यसै पनि शरण पर्छन्’ पाल्पाका कांग्रेसका एक नेता भन्छन् ।

जिल्लामा वर्षौं दुख गरेका नेताहरुलाई पन्छाएर उनको नाम सिफारिस गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि छ । ‘कांग्रेसमा लागेर दशकौं दुख पाउनेको नाम सिफारिस गरिएको छैन । भारतीय संस्थापन पक्षको नजिक भएकाले उनको नाम पठाइएको हो’, ती नेता भन्छन्, ‘क्षेत्र, जिल्ला र प्रदेशबाट नाम सिफारिस हुँदा उनको पार्टीमा भएको योगदानले भएको होइन । माथिको दबावले उनको नाम पठाइएको हो ।’महासमिति सदस्य भएपनि उनले जिल्लामा पार्टीका लागि खासै योगदान नगरेको कांग्रेसका कार्यकर्ताहरु बताउँछन् । नाम सिफारिस हुँदै गर्दा गाउँ डुलेको, संगठन गरेको हेर्नुपर्नेमा कसैको दबाबमा छनोट गर्न नहुने ती नेताहरुको तर्क छ ।

‘को मान्छे कहाँ बस्छ ? कसको पहुँचले आयो र टिकट लिएर गयो भन्ने थाहा भएन त कांग्रेसको नीति, सिद्धान्त, विचार र विधि अनुसार हुँदैन’, पाल्पा– काठमाडौं सम्पर्क समितिका अध्यक्ष खिमानन्द बस्याल भन्छन्, ‘ग्रासरुटमा दुख गरेका एबीसी जोसुकै होउन्, त्यसको मतलब भएन । तर, उहाँले टिकट पाउनुभयो भने आम कार्यकर्ताको मनोबल कमजोर हुनपुग्छ ।’
क्षेत्रका जनता तथा कार्यकर्ताको इच्छा उनलाई उम्मेदवार बनाउनै नहुने रहेको बस्याल दाबी गर्छन् । रानाको नाम अघिल्लोपटक पनि समानुपातिक प्रणालीतर्फ सिफारिस भएको थियो । उनको नाम सिफारिस भएपछि उनलाई उम्मेदवार बनाउन नहुने चर्को दबाव पार्टी भित्रै उठेको थियो । जिल्ला तहका नेताले संसदीय बोर्डका सदस्यहरुलाई दबाव दिएपछि उनको नाम समानुपातिकको सूचीमा परेको थिएन ।

‘उनी उम्मेदवार बने भने संसदमा छिमेकीको प्रभाव बढ्छ’, कांग्रेसका जिल्ला तहका ती नेता भन्छन् । पठाइएको नाममा असन्तुष्टि रहेको भए पनि सार्वजनिक रुपमा नेताहरुले बोल्न नसकेको उनको बुझाइ छ ।कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ भने रनाले भारतको जिम्मेवारी छाडेर आइसकेकाले उम्मेदवार सिफारिस गरेको बताए । ‘अब उहाँ भारतीय गृहमन्त्रीको स्वकीय सचिवको भूमिकामा हुनुहुन्न । त्यसैले सिफारिसमा पर्नुभयो’ उनले भने ।
अनलाइनखबरसँग सम्पर्कमा आएका रानाले उम्मेदवारी सिफारिस र भारतीय संस्थापन नेताहरुसंगको सम्बन्धबारे प्रतिक्रिया दिन अस्वीकार गरे ।

रामपुरमा खोप ल्याउन खोजेका थिए
२०७८ जेठमा रामपुर नगरपालिकाका तत्कालिन प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटेर खोप ल्याउने अनुमति दिन माग गरे । केन्द्र सरकारले खोप दिन नसकेको भन्दै उनले आफ्नो पालिकालाई आवश्यक खोप भारतबाट ल्याउन सक्ने भन्दै अनुमति माग गरेका थिए ।उनले आँट गर्नुको बलियो आधार सन्दीप राना नै थिए । राना रामपुर नगरपालिका–७ का बासिन्दा हुन् । सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको तत्कालीन मेयर थापाको भनाइ थियो । रानाको समन्वयमा भारतका ३ वटा कम्पनीबाट खोप खरिद गर्न सकिने उनले त्यतिबेला अनलाइनखबरलाई बताएका थिए ।

नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य राना अमित शाहको सचिवालयमा मुख्य भूमिकामा काम गर्ने व्यक्ति नभएको बताउँछन् । ‘स्वकीय सचिव भनेर मुख्य भूमिका भएका व्यक्ति होइनन् । सामान्य हुन्, त्यो जिम्मेवारी पनि छोडे । इमान्दार व्यक्ति हुन् । कम बोल्छन्, लप्पन छप्पन देखिन्न’ उनले भने ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार