• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

साउदीमा नेपालीको बेहाल : ऋण खोजेर कमाउन गएकाहरु रित्तो हात फर्किए


साउदी अरबमा ६ महिनादेखि अलपत्र परेका १४ जना नेपाली स्वदेश फर्किएकाछन्।वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) को पहलमा उनीहरू नेपाल फर्किन
सफल भएका हुन् । उद्धार गरिएकाहरूले ६ महिनादेखि तलब र काम दुवै नदिएर आफूलाई बन्धक बनाएर राखिएको बताएका छन्।बल्लतल्ल स्वदेश फर्किन पाएका उनीहरु अब वैदेशिक

रोजगारीमा जान लिइएको ऋण कसरी तिर्ने भन्ने समस्यामा छन् ।सामाखुशीस्थित इशान ओभरसिज प्रालिमार्फत गत मार्च २९ तारिखमा उनीहरु नेपालबाट साउदी उडेका थिए ।साउदीमा करिब ६ महिना रहँदा आफूहरुले एक दिनमात्र काम पाएको, त्यो पनि बालुवा बोक्ने काममा लगाइएको गुनासो गरे । नेपालबाट होटलमा हेल्परका लागि भनेर पठाइएका उनीहरु उता पुगेपछि ३ महिनासम्म काम नै नदिइ राखिएको बताउँछन् ।गोरखाका ध्रुव गुरूङले दिएको जानकारी अनुसार उनी नेपालबाट १ लाख २० हजार तिरेर किचेन हेल्परका लागि साउदी पुगेका थिए । ‘किचन हेल्पर भनेर पठाएको थियो । ६ महिनामा एक दिनमात्र काम पायौं । त्यो पनि बालुवा बोक्ने । दिनभर खाली पेट बालुवा बोकेर बस्यौं,’ उनले भने ।नेपालबाट जानासाथ सुरूमा शौचालय र प्यासेजमा आफूहरुलाई राखेको उनको भनाइ छ । उनले भने, ‘पहिलो महिना शौचालयको पानी खाएर बस्यौं । सुत्नलाई प्यासेजमा राखियो । खाना त कति दिनको बासी दिने गर्थ्यो । नेपालबाट लगेको चाउचाउ र चिउरा खाएर बस्यौँ ।’

इशानमार्फत गएका कतिपयले १ लाख ७० हजार रुपैयाँसम्म तिरेका थिए । ६ महिनासम्म अलपत्र पारेको कम्पनीले अहिले आएर ६०÷६५ हजार दिएर चुपचाप बस्न भनिरहेको उनको भनाइ छ ।नवलपरासीका सूर्यबहादुर विकले बेसिक ८०० र खानाको २०० गरेर एक हजार रियाल दिने भनेर सम्झौता गरिएको तर सम्झौताअनुसार काम नपाएको बताए ।‘होटल लाइनमा पठाईदिन्छु । काम एकदम सजिलो छ भनेर पठायो । उता पुगेपछि न काम दियो, न राम्रोसँग खान बस्न पायौं,’ उनले भने । रमजान महिना कम्पनीले कसैलाई ४०० त कसैलाई ५०० रियाल दिएको जनाउँदै उनले दोस्रो महिना पनि त्यसरी नै बेसिक सेलरी भन्दै थोरै पैसा दिएर राखेको बताए ।‘काम भोलिदेखि हुन्छ, पर्सीबाट हुन्छ भन्दै तीन महिनामा टारिदियो । अति नै भएपछि हामीले दूतावासमा पनि जानकारी गरायौं । दूतावासले पनि हाम्रो केही कुरा सुनेन,’ सूर्यबहादुरले भने ।

उनीहरूको समूहमा रहेका एक जना भने मानसिक पीडामा थिए । उनी आफ्नै पैसामा केही दिन अगाडि नेपाल फर्किएका थिए । १ लाख ७० हजार पैसा तिरेर साउदी पुगेका उनलाई नेपालमा रहेको मेनपावरले ६५ हजार रूपैयाँ दिएको थियो । उनले आफूले साउदी जाँदा लागेको सबै खर्च र विदेशमा ६ महिना बस्दा पाउनुपर्ने तलबसमेत मेनपावरले दिनुपर्ने बताए ।
६ महिनासम्म त्यत्तिकै राखेर घर फर्किने बेला कम्पनीले टिकट काटेर पठाइदिएको ध्रुवको भनाइ छ । ‘हाम्रो समूहमा रहेका १५ जना बाहेक ९२ जना नेपाली पनि काम नपाएर अलपत्र अवस्थामा छन् । दूतावासले केही काम गर्दैन । पैसा नभएको बेला हामी कसरी दूतावासमा पुगेर गुनासो गर्ने ?’ ध्रुवले प्रश्न गरे ।

आफूलाई राखिएको ठाउँबाट दूतावास टाढा हुने र त्यहाँ जान पनि पैसा आफूहरुसँग नहुने भएका कारण कतिपयले दूतावासमा गएर आफ्ना समस्या राख्न नपाएको उनीहरुको भनाइ छ । ‘साथीभाइसँग मागेर खाना खाइरहेकाहरू कसरी दूतावाससम्म पुग्ने ? दुतावासमा जान पनि पैसा हुँदैन । गएपनि त्यहाँ न्याय पाउनुभन्दा उल्टै पीडा दिने काम हुन्छ,’ ध्रुवले भने ।

नेपालीहरू नेपालबाटै ठगिएर विदेशी भूमिमा पुग्ने र त्यहाँ पनि ठगिएर बस्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘राम्रो काम पाइने, राम्रो तलब पाइने भनेर नेपालबाटै दलालहरुले ठगेर पठाउँछन् । उता विदेशमा पुगेपछि अलपत्र भएर बस्नुपर्छ । मर्नु न बाच्नुको अवस्थामा पु¥याउँछ,’ सूर्यबहादुरले भने । विदेशमा रहेका धेरै नेपाली मानसिक रोगको सिकार भइरहेको भन्दै उनले नेपालबाटै राम्रोसँग बुझेर मात्र जानुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार