• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

१९ ठाउँमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता को कति सुरक्षित ? क-कसले हार्दै छन् ? हेर्नुहोस्


माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) ले सत्ता गठबन्धनसँगको निर्वाचन क्षेत्र बाँडफाँटमा प्रतिनिधि सभाका २० सिट पाएको थियो।रूपन्देही-२ मा उक्त पार्टीका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि एकीकृत समाजवादीले प्रतिनिधि सभाका १९ सिटमा प्रतिस्पर्धा गर्दैछ। यी १९ मध्ये माधवकुमार नेपाल उम्मेदवार बनेको रौतहट-१ बाहेक कुनै पनि क्षेत्रमा यो दलको उल्लेख्य मत छैन। तर सत्ता गठबन्धनको मत भने अधिकांश ठाउँमा एकदमै बलियो छ। त्यसैले यो दलका उम्मेदवारले जित्न गठबन्धनका अन्य दलको मत भारी मात्रामा ‘ट्रान्सफर’ हुनुपर्छ।

एकीकृत समाजवादीका लागि यो निर्वाचन यस कारण पनि पेचिलो बनेको छ कि उसले सबै १९ निर्वाचन क्षेत्रमा ‘माउ’ पार्टी एमालेसँग प्रतिस्पर्धा गर्दैछ। स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हेर्दा अधिकांश क्षेत्रमा समाजवादीलाई कांग्रेसको अत्याधिक मत ट्रान्सफर गर्नुपर्ने चुनौती छ।

रौतहट-१ मा माधव नेपाल सुरक्षित
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ मा सुरक्षित देखिएका छन्। उनको क्षेत्रमा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ। यस क्षेत्रमा दलका वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्ता गठबन्धनसँग ५६ हजार ८७९ मत देखिन्छ। एमाले गठबन्धनमा आवद्ध दलका वडाध्यक्षका उम्मेदवारहरूको मत १५ हजार ६ सय २६ छ।यस क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूको मत १९ हजार ६९८ छ भने कांग्रेसको १६ हजार ९ सय २८ र लोसपाको १२ हजार ६२ मत छ। माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले ८ हजार १ सय ९१ मत पाएका छन्।एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ७ हजार ३८५ मत पाएका छन्। यता जसपाका उम्मेदवारले ८ हजार २४१ मत पाएका छन्।

सिराहा-४ मा कडा टक्कर
सिराहा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका तर्फबाट धर्मनाथप्रसाद साहले जसपाका वीरेन्द्र महतोसँग प्रतिस्पर्धा गर्नेछन्।यस क्षेत्रमा सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच झिनो मतको अन्तर छ। सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत २८ हजार २८९ छ भने एमाले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरूले २८ हजार २ सय ८५ मत पाएका थिए।कांग्रेस वडाध्यक्षका उम्मेदवारहरूले १२ हजार ८ सय ६, माओवादी केन्द्रका उम्मेदवाहरूले ११ हजार ६८६ र समाजवादीका उम्मेदवारले ३६ सय र लोसपाले १ सय ९७ मत प्राप्त गरेका छन्।
एमाले वडाध्यक्षका उम्मेदवारहरूको मत १४ हजार ६७१ छ भने जनता समाजवादी पार्टीका उम्मेदवारहरूको मत १३ हजार ६ सय १४ रहेको छ। राप्रपाको मत १हजार २ सय ४४ छ।

इलाम-१ मा कांग्रेस र एमालेको हाराहारी मत
इलाम-१ मा समाजवादीका सम्मानित नेता झलनाथ खनालविरूद्ध एमालेका महेश बस्नेत भिड्दै छन्। यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवारहरूको मत ३६ हजार ४ सय ८८ रहेको छ भने एमाले गठबन्धनमा आवद्ध दलका वडाध्यक्ष उम्मेदवाहरूको मत २७ हजार ६०७ छ। यसरी इलाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन ७ हजार ७ सय १२ मतले अघि छ। नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले पाएको जम्मा मत २५ हजार ७ सय ७२ छ। यस्तै समाजवादीको ९ हजार ४ सय ८१ मत छ भने माओवादी केन्द्रको १२ सय ३५ मत रहेको छ। यता एमालेबाट वडाध्यक्षमा उम्मेदवार रहेकाको मत २५ हजार ७ सय ७८ छ। जसपाको मत १५ सय ६६ रहेको छ। गठबन्धनको साथ पाउँदा इलाम-१ मा खनाल सुरक्षित देखिन्छन्।

धादिङ-१ सहज
सत्ता गठबन्धनको साथ पाउँदा धादिङ-१ मा उम्मेदवारी दिएका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे सहज स्थितिमा छन्। बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएर पाण्डेले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका हुन्। धादिङ १ मा वडाध्यक्षका उम्मेदवारहरूको मत हेर्दा एमालेको गठबन्धनमा आवद्ध दलभन्दा सत्ता गठबन्धन १५ हजार ७०९ मतले अघि छ। सत्ता गठबन्धनका दलमा रहेका वडाध्यक्षका उम्मेदवारहरूले ५३ हजार १ सय ८७ मत पाएका थिए भने एमालेको मत ३७ हजार ७ सय ७८ छ। त्यस क्षेत्रमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले १९ हजार ४२३, माओवादीका उम्मेदवारले २४ हजार९२८ र एकीकृत समाजवादीका उम्मेदवारले ८ हजार ८ सय ३६ मत प्राप्त गरेका थिए।

उदयपुर-२ मा कडा प्रतिस्पर्धा
उदयपुर-२ मा एकीकृत समाजवादीले उपमहासचिव जगन्नाथ खतिवडालाई उठाएको छ। उनले एमालेका अम्बर बहादुर रायामाझीसँग प्रतिस्पर्धा गर्नेछन्।उदयपुर-२ मा सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत हेर्दा ३ हजार ६६ मतले अघि छ। सत्ता गठबन्धनको मत २२ हजार ९७३ रहेको छ भने एमालेमा आवद्ध गठबन्धन दलको मत १९ हजार ९०७ छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको मत ११ हजार ३ सय ४४ रहेको छ भने माओवादी केन्द्रको मत ८ हजार २ सय २ छ। त्यस क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले ३४ सय २७ मत पाएका छन्।उक्त क्षेत्रमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले १८ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवारहरूले १३ सय ३४ मत ल्याएका छन्।

मकवानपुर-२ मा छैन कठिनाइ
मकवानपुर क्षेत्र नम्बर २ बाट विरोध खतिवडाले उम्मेदवारी दिएका छन्। उनले एमालेका महेश बर्तौलासँग प्रतिस्पर्धा गर्नेछन्। यहाँ एकीकृत समाजवादीको मत एकदमै कम छ। तर सत्ता गठबन्धनको मत भने एमालेको भन्दा एकदमै धेरै छ।वडाध्यक्षका उम्मेदवारहरूको मत हेर्दा खतिवडा सहज स्थितिमै देखिन्छन्। यस क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवाहरूले ६० हजार ३४ मत पाएका छन्। यता एमालेमा आवद्ध गठबन्धन दलका वडाध्यक्ष उम्मेदवारहरूको मत ३७ हजार ८६ छ। सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत ३४ हजार २ सय ४० रहेको छ। यस्तै माओवादी केन्द्रका उम्मेदवारहरूले २२ हजार ६ सय ६१ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीको मत भने २७ सय १९ रहेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष उम्मेदवारले पाएको मत ४ सय ६४ छ।एमालेका वडाध्यक्ष उम्मेदवारहरूको मत ३६ हजार ८ सय ६६ रहेको छ भने जसपाको २ सय २० रहेको छ। खतिवडा यस निर्वाचन क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन्।

काठमाडौं-८ मा कांग्रेसको मत ट्रान्सफर गर्नुपर्ने चुनौती
काठमाडौं-८ मा एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई उम्मदेवार बनाएको छ। उनले एमालेका शिवराज वैद्यसँग प्रतिस्पर्धा गर्नेछन्। यस क्षेत्रमा समाजवादीलाई कांग्रेसको मत ट्रान्सफर गर्नुपर्ने चुनौती छ। काठमाडौं-८ मा वडाध्यक्षका उम्मेदवारहरूको मत परिणामअनुसार सत्ता गठबन्धन ३ हजार ७ सय ४ मतले अघि छ। एमाले गठबन्धनमा आवद्ध दलका वडाध्यक्षका उम्मेदवारहरूको मत ९ हजार ३५० छ भने सत्ता गठबन्धनको मत १६ हजार २ सय १४ मत छ। सत्ता गठबन्धनको कांग्रेसले १० हजार ८७२ प्राप्त गरेको छ भने माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले १ सय ८९ र एकीकृत समाजवादीले ५१ सय ४२ मत प्राप्त गरेका छन्। एमालेको मत ९ हजार २५३ र जसपाको मत ९७ छ। श्रेष्ठ यसअघि एमालेबाट त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

ललितपुर-२ मा पनि कांग्रेसकै भर
ललितपुर- २ मा एकीकृत समाजवादीले कृष्णलाल महर्जनलाई उठाएको छ। महर्जन एमालेका प्रेमलाल महर्जनसँग भिड्ने छन्। ललितपुर-२ मा वडाध्यक्षका उम्मेदवारहरूको मत परिणामअनुसार सत्ता गठबन्धन ११ हजार ८ सय १५ मतले अघि छ। एमालेको मत १७ हजार ७१२ रहेको छ भने सत्ता गठबन्धनको मत २९ हजार ५२७ छ। सत्ता गठबन्धनको कांग्रेसले २१ हजार ८१ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले ५ हजार २५४ मत पाएका छन् भने एकीकृत समाजवादीका उम्मेदवारहरूले ३१ सय ९२ मत प्राप्त गरेका छन्।यता, एमालेका वडाध्यक्षका उम्मेदवारहरूले १७ हजार ७१२ मत प्राप्त गरेका छन्।

बारा-४ मा लोसपाको मत जोगाउनु पर्ने चुनौती
बारा-४ मा समाजवादीका किसान श्रेष्ठ उम्मेदवार छन्। उनले एमालेका एकवाल मियाँसँग प्रतिस्पर्धा गर्नेछन्। मियाँ लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर हालसालै एमाले गएका थिए। लोकतान्त्रिक समाजवादी पार्टीका वडाध्यक्ष उम्मेदवारहरूले प्राप्त गरेको मत १५ हजार ८० रहेको छ। यता, एमालेका वडाध्यक्ष उम्मेदवारहरूको मत २१ हजार १ सय ६७ मत रहेको छ। मियाँले मत तान्न सक्ने आँकलन गरेरै एमालेले उनलाई उठाएको हो।

यस क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको मत ४५ हजार ७ सय ५९ रहेको छ भने एमाले गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको मत २६ हजार ८५८ रहेको छ। सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत १६ हजार ५८९ रहेको छ, माओवादी केन्द्रको ९ हजार ७१ र एकीकृत समाजवादीको ५ हजार ६ सय १९ मत छ।
यता, एमालेका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १६७ मत पाएका छन् भने जसपाका उम्मेदवारहरूले ५ हजार ६ सय ९१ मत पाएका छन्।

कास्की-२ मा कठिन
कास्की-२ मा सत्ता गठबन्धनलाई जित्न कठिन देखिएको छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम अनुसार सत्ता गठबन्धन झिनो मतले अघि छ। सत्ता गठबन्धनको मत २२ हजार ३०० छ भने एमालेको २१ हजार ३१७ मत छ।कास्की-२ मा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले यसअघि त्यही क्षेत्रबाट निर्वाचित एमालेकी विद्या भट्टराईसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। यस क्षेत्रमा सत्ता गठबन्धन विपक्षीभन्दा ९ सय ८३ मतले मात्रै अघि छ।कांग्रेसको वडाध्यक्षका उम्मेदवारहरूको मत १९ हजार ८ छ भने माओवादी केन्द्रको मत ११ सय ९९, समाजवादीको २ हजार ५३ र राष्ट्रिय जनमोर्चाको मत ४० रहेको छ। यता, एमालेको मत २१ हजार १ सय ६४ रहेको छ भने जसपाको १ सय ५३ मत रहेको छ।

गुल्मी-२ मा कांग्रेसको मत ट्रान्सफर गर्नुपर्ने चुनौती
एकीकृत समाजवादीले गुल्मी-२ मा सचिव रामकुमारी झाँक्रीलाई उठाएको छ। उनले त्यस क्षेत्रबाट निरन्तर निर्वाचित एमाले सचिव गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको परिणामअनुसार सत्ता गठबन्धन विपक्षी गठबन्धनभन्दा २ हजार २८५ मतले अघि छ। तर यस निर्वाचन क्षेत्रमा एकीकृत समाजवादी र माओवादीको केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूको मत बराबरी छ। दुबै दलका उम्मेदवारहरूले १८ सय ४१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा समाजवादीले जित्नका निम्ति कांग्रेसको मत भारी मात्रामा ट्रान्सफर गर्नुपर्ने चुनौती छ। यस क्षेत्रमा कांग्रेसको मत २९ हजार ८ सय २१ रहेको छ। त्यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले ४० मत प्राप्त गरेका छन्।
एमालेका वडाध्यक्षका उम्मेदवारहरूको मत ३१ हजार ३ सय ५२ रहेको छ।

पाल्पा-२ मा पनि कांग्रेसकै भर
पाल्पा-२ मा एकीकृत समाजवादीले सोमप्रसाद पाण्डेलाई उठाएको छ। पाल्पा-२ बाट पटक-पटक निर्वाचित हुँदै आएका पाण्डे एमालेका ठाकुर गैरेसँग भिड्दैछन्। पाण्डे समाजवादीमा लागेपछि गैरेले पहिलो पटक संसदीय चुनावमा उठ्ने अवसर पाएका हुन्।यो क्षेत्रमा पनि समाजवादी कांग्रेसमै निर्भर देखिन्छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको परिणामअनुसार सत्ता गठबन्धन ४ हजार ७८० मतले अघि छ। सत्ता गठबन्धको दल कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत २९ हजार ३९ छ। माओवादी केन्द्रका उम्मेदवारहरूले ४ हजार ९ सय ९० र राष्ट्रिय जनमोर्चाको मत ८ सय ४० रहेको छ।
यता, एमालेका वडाध्यक्ष उम्मेदवारहरूले ३० हजार ५ सय ६६ मत ल्याएका थिए। पाण्डे समाजवादीमा गएपछि गैरेले पहिलो पटक परीक्षणको अवसर पाएका छन्। यस क्षेत्रमा भीडन्त रोचक हुने देखिन्छ।

दाङ-१ मा सहज स्थितिमा समाजवादी
दाङ-१ मा एकीकृत समाजवादीले मेटमणि चौधरीलाई उठाएको छ। उनले एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गर्नेछन्। दाङ-१ मा विपक्षी गठबन्धनभन्दा सत्ता गठबन्धन २३ हजार ७८८ मतले अघि छ। सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको मत २९ हजार ७५७ रहेको छ भने माओवादी केन्द्रको मत १९ हजार २७६ छ। एकीकृत समाजवादीका उम्मेदवारहरूको मत २३ सय ४१ छ भने राष्ट्रिय जनमोर्चाको मत २५ सय ९६ रहेको छ।एमालेका वडाध्यक्षका उम्मेदवारहरूले २७ हजार ८५ मत प्राप्त गरेका थिए भने जसपाका उम्मेदवारहरूको मत ८ सय ७ र राप्रपाको मत २३ सय ५० रहेको छ। दाङ-१ मा एमालेले टिकट नदिएपछि गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। मेटमणि त्यही क्षेत्रबाट निर्वाचित सांसद हुन्।

सहज सल्यान
एकीकृत समाजवादी सल्यानमा सहज स्थितिमा रहेको छ। सल्यानमा समाजवादीका प्रकाश ज्वाला एमालेका गुलाबजंग शाहसँग प्रतिस्पर्धा गर्नेछन्। सल्यानमा सत्ता गठबन्धन एमालेभन्दा फराकिलो अन्तरले अघि छ। वडाध्यक्षहरूको मत परिणामअनुसार सत्ता गठबन्धन ४३ हजार १७६ मतले अघि छ।सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत ६९ हजार ८०७ रहेको भने एमालेका वडाध्यक्षहरूको मत २६ हजार ६२८ रहेको छ। सत्ता गठबन्धनका कांग्रेसका उम्मेदवारहरूको मत ३३ हजार ६१६ रहेको भने माओवादी केन्द्रको मत २६ हजार ७ सय १८ र समाजवादीको मत ९ हजार ४ सय ६७ रहेको छ।

दैलेख-१ मा कांग्रेसकै मतमा निर्भर
एकीकृत समाजवादीले दैलेख-१ मा अम्मरबहादुर थापालाई उम्मेदवार बनाएको छ। उनले एमालेका रवीन्द्रराज जोशीसँग प्रतिस्पर्धा गर्नेछन्। वडाध्यक्षका उम्मेदवाहरूले प्राप्त गरेको मतअनुसार त्यस क्षेत्रमा सत्ता गठबन्धन एमालेभन्दा १० हजार बढी मतले अघि छ। सत्ता गठबन्धनको मत २९ हजार ७० छ भने एमालेको मत १९ हजार ६१ छ। सत्ता गठबन्धनबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २० हजार ३ सय ४४ मत पाएका छन् भने माओवादी केन्द्रले ३१ सय ७५ र एकीकृत समाजवादीले ५ हजार ५ सय २९ र राष्ट्रिय जनमोर्चाका वडाध्यक्षका उम्मेदवारहरूले २९ मत पाएका छन्।

अछाम-१ एमालेको असन्तुष्टि र गठबन्धनको अग्रताले सहजता
अछाम-१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर एमालेका झपट बोहोरासँग प्रतिस्पर्धा गर्नेछन्। त्यस क्षेत्रबाट निरन्तर जित्दै आएका भीम रावललाई टिकट नदिएर एमालेले माओवादीबाट हालै प्रवेश गरेका बोहोरालाई उठाएको हो। यसले एमालेको पंक्तिमा असन्तुष्टि रहेकाले समाजवादीका कुँवरले लाभ लिनसक्ने सम्भावना छ। अंकगणित अनुसार पनि अछाम-१ मा सत्ता गठबन्धन एमालेभन्दा ९ हजार बढी मतले अघि छ। त्यस क्षेत्रमा सत्ता गठबन्धनको मत २६ हजार २७० छ भने एमालेको मत १६ हजार ७२८ मत छ। सत्ता गठबन्धनबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको मत १६ हजार ७२८ छ भने माओवादी केन्द्रको माओवादी केन्द्रको ६ हजार ७९० र समाजवादीको २ हजार ७५२ मत छ।

बझाङमा पनि कांग्रेसकै भर
बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशीले एमालेका ऐन महरसँग लड्नेछन्। बझाङमा वडाध्यक्षका उम्मेदवारहरूको मतपरिणाम अनुसार सत्ता गठबन्धन एमाले भन्दा ८ हजार बढी मतले अघि छ। सत्ता गठबन्धनको मत ३६ हजार ९४३ रहेको भने एमालेको मत २८ हजार १८४ छ। सत्ता गठबन्धनबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको मत २० हजार १६६ भने माओवादी केन्द्रको ९ हजार १४५ मत छ। एकीकृत समाजवादीको मत ७ हजार ६३२ मत छ। यस क्षेत्रमा पनि समाजवादीले कांग्रेसबाट बढी मत ट्रान्सफर गर्नुपर्नेछ।

डोटीमा सहज
डोटीमा समाजवादीका प्रेम आले एमालेकी गौरी वलीसँग भिड्ने छन्। डोटीमा सत्ता गठबन्धन एमालेभन्दा २० हजार १ सय २५ मतले अघि छ। सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत ४५ हजार ४१ मत छ भने एमालेको मत २४ हजार ९१६ छ। सत्ता गठबन्धनबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले ३४ हजार ४७ र माओवादी केन्द्रले ७ हजार ७८९ र समाजवादीको मत ३२ सय ५ छ। आले यसअघि पनि डोटीबाटै निर्वाचित भएका थिए।

डोल्पामा पनि सहज स्थिति
डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाले एमालेका गणेशबहादुर शाहीसँग प्रतिस्पर्धा गर्नेछन्। त्यस क्षेत्रमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतको आधारमा सत्ता गठबन्धन ४ हजार ७ सय १३ मतले अघि हुँदा समाजवादीलाई सहज देखिएको हो। सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूले ९ हजार २५८ मत पाएका छन् भने एमालेका उम्मेदवारहरूले ४ हजार ५४५ मत ल्याएका छन्। सत्ता गठबन्धनका कांग्रेसका उम्मेदवारको मत ३ हजार ६९ रहेको छ भने माओवादी केन्द्रको मत ४ हजार ८५५ र समाजवादीका वडाध्यक्ष उम्मेदवारहरूको मत १३ सय ३४ छ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार