• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

शपथ लगत्तै सांसद महतो र गुरुङ ‘निलम्बनमा’, अख्तियार र प्रहरीको पत्र पुग्यो संसदमा


काठमाडौंः शपथलगत्तै नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ र नेकपा (एमाले) का लक्ष्मी महतो निलम्बनको अवस्थामा पुगेका छन्। गुरुङको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको जानकारी शुक्रबार अख्तियारले संसदमा जानकारी गराएको छ। साथै महतो फरार सूचीमा रहेको जानकारी प्रहरीले पनि सचिवालयमा शुक्रबार नै पठाएको छ।

अख्तियार र प्रहरीको पत्राचारमा दुबैलाई सांसदका रुपमा काम गर्न नमिल्ने उल्लेख रहेको संसद सचिवालयले जनाएको छ।बिहीबार प्रतिनिधिसभा सदस्यहरुको शपथ भएको थियो। शपथको भोलिपल्टै अख्तियार र प्रहरीले पत्र संसदमा पठाएको हुन्। अब पत्र दुबै राजनीतिक दललाई जानकारीका लागि पठाइने र आउँदो अधिवेशनमा पेश हुने सचिवालयले जनाएको छ। शुक्रबार पत्र संसद् पठाइएको प्रहरी सोतले जनाएको छ।

दुबै निकायको पत्राचारपछि अब गुरुङ र महतोको सदस्यका रुपमा पाउने सेवा सुविधा पनि रोकिने छ।महतो नेपाल प्रहरीका असई थमन विकको हत्याका मुख्य योजनाकारका रुपमा अदालतले पुर्पक्षका लागि राख्न आदेश भएका सांसद हुन्। महोत्तरी १ बाट निर्वाचित महतोको कमान्ड मधेश आन्दोलनमा विकको हत्या भएको प्रहरीको दाबी छ। सोही दाबी अनुसार मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।

महतोलाई जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि उच्च अदालत जनकपुरले भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ। थुनामा रहनुपर्ने भए पनि महतोले निर्वाचनमा भाग लिएर विजयी भएका थिए।

यस्तै, भृकटीमण्डपको फनपार्क भाडा प्रकरणमा गुरुङलाई अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गुरुङ पनि अदालतको तारेखमा छुटेका हुन्। तर, मुद्दा अन्तिम टुंगो लागिसकेको छैन। उनीमाथि ३१ करोड ५२ लाख १७ हजार छ सय ७५ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ। मुद्दामा सफाइ नपाए गुरुङ निलम्बनकै अवस्थामा रहनेछन्।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार