• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

जनमत अनुसार पहिले देउवा दोस्रो प्रचण्ड र तेस्रो पालो नेपालले सरकारको नेतृत्व गर्ने


सरकार गठनबारे निर्णय गर्न शनिबार बसेको सत्तारुढ गठबन्धन बैठकमा नेपाली कांग्रेसले प्राप्त जनमतको आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सारेको छ । यद्यपि, सो प्रस्तावमा ठोस सहमति भने हुन सकेन ।बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा प्राप्त जनमतअनुसार गठबन्धनको सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसले, त्यसपछि नेकपा माओवादी केन्द्र र अन्त्यमा एकीकृत समाजवादी केन्द्रले सरकारको नेतृत्व गर्ने गरी सहमति गर्न प्रस्ताव गरेको हो । ती नेताले कुराकानीमा भने, ‘पहिले संविधानको रक्षा गर्न तपाईंहरुले नै कांग्रेस अग्रसर हुनुपर्छ भनेर प्रस्ताव गर्नुभएको हो ।

अहिले पनि सत्तारुढ गठबन्धनले आलोपालो नेतृत्व गर्नुपर्छ भन्नेमा हाम्रो असहमति होइन । त्यसैले कसले पहिले गर्नेमा अलमलिनुभन्दा पनि निर्वाचनको जनमतलाई सम्मान गर्दै गठबन्धनको सबैभन्दा ठुलो दलको हैसियतले पहिले कांग्रेसले, त्यसपछि माओवादीले र अनि एकीकृत समाजवादीले सरकारको पालोपालो नेतृत्व गरौँ भनेर हामी कुरा राख्यौँ ।’कांग्रेसको प्रस्ताव अनुसार पहिलो दुई वर्ष कांग्रेसको नेतृत्वमा सरकार बन्ने, त्यसपछि दुई वर्ष माओवादी र अन्तिम एक वर्ष एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने रहेको ती नेताको भनाई थियो । यता, बैठकमा सहभागी माओवादी नेताका अनुसार भने कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा नै हलो अड्किएको रातोपाटीलाई बताए ।

उनले भने, ‘आजको बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भए पनि ठोस सहमति हुन सकेन । कुरो सरकारको नेतृत्व कसले पहिले गर्ने भन्नेमा नै अड्किएको छ । भोलि बिहान फेरि बस्ने कुरा भएको छ । अब पूर्व समझदारी अनुसार भन्ने हो भने हामीले कसरी आफ्नो दाबी छाड्ने ? अहिलेसम्मको स्थिति भनेको जसको नेतृत्वमा पनि सरकार बन्न सक्छ ।’ भोलि बिहान नेताहरुबीच पुनः छलफल गर्ने भनिएको छ । त्यो बैठकले नै अन्तिम टुंगो लगाउने छ ।

यता ​कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । बैठकपछि मन्त्री कार्कीले आगामी दिनमा गठबन्धनकै सरकार बन्ने दाबी गरे । ‘भोलिसम्म तपाईंहरु धैर्य गर्नुस्, आलोपालो प्रधानमन्त्रीमा कसले पहिला नेतृत्व गर्ने भन्नेमा हलो अड्किँदैन’, कार्कीले भने, ‘’प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकाङ्क्षा अनुसार कसरी अघि बढाउने भन्ने महत्त्वपूर्ण कुरा हो । त्यसैले गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ’, मन्त्री कार्कीको भनाइ छ ।

उनले छलफल जारी रहेकाले भोलि निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्णय गरिने बताए । उनले बैठकमा मुलुकलाई अघि बढाउने विषयमा दलहरूले धारणा राखेको भन्दै बैठक सकारात्मक ढङ्गले अघि बढेको बताए ।गठबन्धनको बैठक आइतबार बिहान ८ बजे बस्ने तय भएको छ । आइतबार नै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको एक साताको समय सकिँदैछ ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार