• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

प्रचण्डलाई प्रधानमन्त्री बनाउने चिठी बोकेर शीतल निवास जाँदै नेताहरू


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।

‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास जाने भएका छन् । सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको हो ।

बालकोटमा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भएको थियो । सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट अभिवादन गरेका छन् । सत्ता गठबन्धन तोडिएर एमाले, माओवादीसहितका दलहरुबीच मिलेर सरकार बन्ने सहमति पछि बार्दलीमा आएर ओलीले अभिवादन गरेका हुन् ।

बालकोटमा आज पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ । जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार