• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री


काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सपथ लिँदैछन्। अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराउँदैछिन्।

सपथ ग्रहण अघि गठबन्धनमा मन्त्री भागबन्डा गर्न बैठक चलिरहेको छ। संघीय संसद भवनमा मन्त्रालयबारे सहमति जुटाउन अहिले नेताहरु छलफलमा छन्।

७ दलको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डको सरकारमा तीनजना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आकर्षक मन्त्रालयसहित उपप्रधानमन्त्रीमा सपथ लिने तयारीमा छन्।

यस्तै, सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीमा दाबी गरेको छ। पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने पनि लगभग निश्चित भएको बताइन्छ। उनले गृह मन्त्रालय माग गरे पनि त्यसबार भने सहमति हुन सकेको छैन।

उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् ।

संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रविले आफ्नो दाबी पेश गरेका हुन् ।उनका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने, स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको छ ।

लामिछानेको दल सरकारलाई समर्थन गर्ने एमाले र सरकारकाे नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार