• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन माओवादी केन्द्रका नेताहरु तयार


काठमाडौँ— सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । यद्यपि प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ ।

माओवादीको प्रदेश कमिटीले मुख्यमन्त्रीमा दाबी गर्दै वार्ता समिति नै बनाएको छ । एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीका आकांक्षी हुन् । प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो दल हो भने माओवादीको १३ सिट छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको प्रष्ट बहुमत छ ।११० सदस्यीय बाग्मती प्रदेशसभामा एमाले र माओवादीको मात्र बहुमत पुग्दैन । उसले राप्रपाको पनि समर्थन लिनुपर्ने हुन्छ । एमालेको २७ सिट, माओवादीको २१ र राप्रपाको १३ सिट छ ।यहाँ पनि माओवादीका शालिकराम जम्मरकट्टेल, गंगा श्रेष्ठ, सरल सहयात्री मुख्यमन्त्रीका आकांक्षी छन् । ६० सदस्यीय गण्डकी प्रदशेसभामा एमालेको २२ र माओवादी केन्दको ८ सिट छ । यहाँ पनि सरकार गठन गर्न राप्रपाको समर्थन चाहिन्छ ।

एमालेले सरकारको नेतृत्व पाएको अवस्थामा स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन् । कर्णाली एमालेको भागमा परेमा यमलाल कँडेल मुख्यमन्त्री हुनेछन् ।४० सदस्यीय कर्णााली प्रदेशसभामा माओवादी केन्द्रको १३ र एमालेको १० सिट जोड्दा बहुमत पुग्छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए । ८७ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्ति, जनमत, जनता समाजवादी लगायतका सबै दलले साथ दिँदा मात्र बहुमत पुग्छ ।

एमालेको २९, माओवादीको ९, राप्रपा र नागरिक उन्मुक्तिको ४ ४, जनमत र जसपाको ३ ३ प्रदेश सभा सदस्य छन् । सुदूर पश्चिम प्रदेशसभामा पनि सरकार निर्माणमा नागरिक उन्मुक्ति निर्णायक हुनेछ ।

५३ सदस्यीय प्रदेशसभामा माओवादीको ११ एमालेको १०, नागरिक उन्मुक्तिको ११ र राप्रपाको १ सिट छ । यो प्रदेशमा सरकारको नेतृत्व माओवादीले पाएमा प्रदेश अध्यक्ष समेत रहेका खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ ।

मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ । १०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार