• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

देउवा घेराबन्दीमा, सभापति खोस्दै शेखर–गगन! राजीनामा नदिए काँग्रेसमा फुटको जोखिम


काठमाडौँ — नेपाली काँग्रेस अहिले स्तब्ध छ । मुखैमा रहेको सरकार र सबथोक गुम्यो । गुमाउनुको कुनै हिसाबकिताब छैन । प्रधानमन्त्री र राष्ट्रपति कुनै पनि हालतमा नछोड्ने हठले सरकारको पहिलो हकदार नेपाली काँग्रेसले सत्ताको सबै गुमाएको हो । फलतः अहिले काँग्रेसभित्र कलह चर्किएको छ । संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवाको पद खोस्न कसरत चलाएको छ । केन्द्र सरकारदेखि प्रदेश सरकारमा काँग्रेसको भविष्य प्रतिपक्षी कित्तामा मात्रै सीमित बनेको छैन, सत्ताको सबथोक गुमाएपछि अहिले कलह समेत चर्किएको छ । देउवा स्तब्ध मुद्रामा बालुवाटार छोड्न बाध्य बनेका छन् ।

देउवाकै कारण सत्ता गुमेको आरोप लगाएर संस्थापनइतर समूहले कि राजीनामा कि विशेष अधिवेशनको माग गरेको छ ।मुलतः पुष १० को नोक्सानीलाई शेखर पक्षले सामान्य क्षति नभएको अर्थमा मुद्धा बनाएको छ । यसका लागि पुष २२ गते बस्ने केन्द्रीय समिति बैठकमा निर्मम समिक्षा गर्ने उसको तयारी छ । किनकि नेतृत्वको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदप्रतिको आशक्तिले सत्ता गुमेको निष्कर्ष यो समूहले निकालेको छ ।मुख्यतः प्रचण्डबिना काँग्रेसले टूहुरो महसुस गरेको छ । बालुवाटार छोड्नुपर्छ भन्ने आकलनसमेत नगरेका देउवाले सत्ता गुम्दै गरेको भेउसमेत पाएनन् ।निकटको विगत दोहोरिँदा पनि माओवादीलाई आँखा चिम्लेर विश्वास गरे । किनकि २०७४ को स्थानीय तह निर्वाचनमै माओवादीले पहिले काँग्रेससँग तालमेल गर्दै पछि संसदीय निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो । त्यसपछि माओवादी र काँग्रेसबीचको सम्बन्ध बिग्रियो ।

तर प्रधानमन्त्री नै किस्तीमा बोकेर आएपछि देउवा लथ¥याकलुथरुक बने ।२०७९ को निर्वाचनमा फेरि माओवादीसँग गठबन्धन गर्न ललायित भएका देउवालाई पदप्रतिकै निम्ति प्रचण्डले धुल चटाए । फलतः माओवादीसहितका दलसँगको सहकार्यले देशको नम्बर वान पार्टी बनेपनि काँग्रेस मुखमै रहेको सत्ता गुमाउन विवश बनेको छ । यसमा देउवाको पदमोह त जोडिएको छ नै, एक्ला सभापतिले सबै मिलाएर ल्याइहाल्छन्, त्यसपछि बाँडेर खाउँला भन्ने आदत परेका नेताहरुको कमजोरी पनि कारण बनेको छ । किनकि पुष १० मा काठमाडौं नछोड्न सभापतिले जारी गरेको सर्कुलर नै मिचेर दुई महामन्त्री फेवा तालतिर हानिए । र सत्ता गुमेपछि हामीमाथि अपमान भयो भन्दै देउवाको राजीनामा र विशेष महाधिवेशनको माग गरेका छन् ।

तर संस्थापन पक्षले यसमा सभापति देउवाको मात्रै नभएर चर्चाका लागि बोल्ने र दोषमात्रै थुपार्ने महामन्त्रीलाई समेत डाम्ने काम गरेको छ । २०७४ सालको निर्वाचनमा संसदको संख्यामा कमजोर हुँदा देउवाको राजनीनामा र विशेष महाधिवेशनको माग उठेको थियो । यसपटक पहिलो दल हुँदा समेत सोही माग उठेको छ । गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो ? र आज किन जोगाउन सकिएन ? यसमा देउवाको सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? अहिले शेखर समूहका नेताहरु यहि प्रश्न गरिरहेका छन् ।

तर विशेष महाधिवेशन बोलाउन केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले लिखित माग पेश गर्नुपर्छ ।केन्द्रीय समितिमा देउवा पक्षधर ८२ प्रतिशत छन् । फलतः ४० प्रतिशतले विशेष महाधिवेशन माग गर्ने सम्भावना शून्यप्रायः छ ।यस्तो बेला आन्तरिक एकता नै बलियो बनाएर जानु काँग्रेसका लागि फलदायी हुन्थ्यो । तर संसदीय अभ्यासमा प्रतिपक्षी सधैं बलसाली हुन्छ भन्ने मान्यतालाई समेत विर्सिएर काँग्रेसले प्रचण्ड गुमाउनुको रोइकराई गरिरहेको छ । अहिले सार्वजनिक भइरहेका रुवाबासी पनि काँग्रेस कमजोर बनेको स्वीकारोक्ति हो ।यस्तो अवस्थामा एकअर्कालाई दोषारोपण गर्नुभन्दा वैचारिक धरातल निर्माण गर्न आवश्यक रहेको काँग्रेसकै पुराना नेताहरु बताउँछन् । नत्र सभापतिले राजीनामा दिने अवस्था बने महामन्त्रीसहित सबै पदाधिकारीले राजीनामा दिन आवश्यक रहेको उनीहरुको मत छ । प्रतिपक्ष सत्तापक्ष बन्न सक्दैन भन्ने कमजोर मनोभाव काँग्रेसमा देखिन थालेको छ ।

किनकि अहिले बनेको गठबन्धन टिक्न सकेँ फेरि काँग्रेस सत्तामा आउने सम्भावना निकै झिनो देखिन्छ । तथापी विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेलहरुको सपना जोगाएर अघि बढे आगामी पाँच वर्षपछि काँग्रेसको एकल बलमै सत्ता पुनरागमन टाढा छैन । नत्र प्रचण्डहरुको चक्मा खाँदै रोइकराई गर्नुको विकल्प हुने छैन ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार