• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

माधव–बाबुरामलाई पाखा राखेर ओलीसँग प्रचण्ड एकता !


काठमाडौँ — नयाँ समीकरणसहित नयाँ सरकार बन्नुको अर्थ सत्ताको सहकार्य मात्रै रहेन । ठूला वामपन्थीहरुको पुनरमिलनले वाम एकताको सम्भावनालाई समेत सतहमा ल्याएको छ । एमाले अध्यक्ष ओलीकै बलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीसमेत सत्ता सहकार्यका लागि सहज बन्न थालेको छ । यस्तो अवस्थामा फेरि वामहरुबीच एकता होला ? संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई मध्यदिनमै चक्मा दिएर तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ ।पहिलो र तेस्रोबीचको सम्बन्ध विच्छेद गर्दै दोस्रो ठूलो दल नेकपा एमाले सत्ताको शक्ति बनेको छ ।

दुई ठूला वाम पार्टीहरु विगतको तीतो भूल्दै सत्ताका लागि साथी बनेपछि वाम एकताको सम्भाव्यता एकाएक खोतल्न थालिएको छ। फेरि ओली, प्रचण्ड र माधवहरु एकठाउँमा उभिएर बलियो कम्युनिष्ट ताकत बन्ने सम्भावना विश्लेषकहरु देख्न थालिसकेका छन् । निर्वाचनअघि एमालेबाहेकको गठबन्धनमा सामेल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकता गर्दै समाजवादी केन्द्रको सपना बुनेका थिए । त्यसमा नेपाल समाजवादी पार्टीको अध्यक्ष भएपनि निर्वाचनमा हैसियत जति सबै माओवादीमा स्वाहा बनाएका बाबुराम भट्टराई समेत सामेल हुने कुरा थियो ।

तर काँग्रेससँगको गठबन्धनमा रहेर प्रधानमन्त्री बन्ने सम्भावना अन्त्य भएपछि अन्तिम समयमा आएर प्रचण्डले गठबन्धन तोडिदिए । त्यसबेला आफुसँग परामर्श नगरि एमालेसँग मिल्न गएको भन्दै माधवकुमार नेपालले प्रचण्डप्रति सार्वजनिक असन्तुष्टि नै जाहेर गरेका छन् । बाबुराम भट्टराईलाई बोल्नु कि मुख टाल्नु भइरहेको छ । फलतः समाजवादी केन्द्र निर्माणको विषय पनि अलपत्र छ । तर काँग्रेसबाट छुट्टीएर विचार मिल्नेसँग गठबन्धन भएको भन्दै माओवादीहरु वाम एकताको सम्भावना देखिरहेका छन् ।

विगतमा राज्यसत्ता र पार्टी सत्ताको भागबन्डा र ‘पावर सेयरिङ’ को एकसूत्रीय सहमतिमै एमाले–माओवादी एकता भई नेकपा बनेको थियो । जुन सहमति कार्यान्वयन हुन नसकेपछि एकता मात्र भत्किएन कि, साबिक एमाले घटकसमेत फुट्यो ।सत्ताकै लागि मिल्ने र सत्ताकै लागि फुट्ने शक्तिका रुपमा उनीहरुको पहिचान बनेको छ । अहिले माओवादी एमालेमा मिल्न गएपनि माधवहरु ओलीसँग मिल्न डराइरहेका छन् । तथापी माधवलाई सकभर पार्टीमै गाँभेर संसदको पहिलो शक्ति बन्ने मिशन एमालेको देखिन्छ । तर तत्कालै सम्भव नभएपनि वाम एकतालाई एमालेहरु केही पर देखिरहेको छन् ।

वाम एकताको सबभन्दा ठूलो बाधा हुनेछ– दुवै घटकलाई आफ्नै अध्यक्ष संयुक्त दलको अध्यक्ष हुनुपर्ने र उनीहरूबीच चित्तबुझ्दो पावर सेयरिङ हुनुपर्ने विषय । विगतमा नेकपा बन्दा यो निकै रडाको बनेको थियो । फलतः सत्ताको स्वार्थका लागि वामहरु मिलेजस्तो देखिएपनि आगामी निर्वाचनअघि नै एकता सम्भव देखिँदैन ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार