• २०८१ असार ४ गते सोमवार
  • Preeti To Unicode

टिकटकका लागि संसदमा लुगा फुकालिरहेका अमरेश


काठमाडौं । सांसदहरु हिजोआज संसदमा बोल्दैनन् । संसदको मञ्चमार्फत् टिकटकमा बोल्छन् । युट्युबमा बोल्छन् । फेसबुक रिलमा बोल्छन् । भाषण सकिन पाएको छैन, पत्रकारका ह्वाट्सएप तिनका म्यासेजले भरिन्छन् । ‘मैले भर्खरै संसदमा बोलेको छु, यसलाई न्युज बनाइदिनुहोला,’ उनीहरु अनुरोध पठाउँछन् ।

यी सबै प्रकरणलाई बिर्साउने गरी, अनि विश्वेन्द्र पासवानलाई सम्झाउने गरी सांसद अमरेश सिंह सोमबार प्रतिनिधि सभामा अर्धनग्न भए । उनले बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरे समक्ष आकस्मिक समय माग गरेका थिए । प्रिबजेट छलफलका कारण आज आकस्मिक समय नराख्ने पहिल्यै तय भएको थियो । घिमिरेले समय नदिएपछि उनी लुगा फुकाल्न थाले ।

नांगिनु राजनीतिक क्रिया हो । मणिपुरमा भारतीय सैनिकको यौनहिंसाविरुद्ध नांगिएर प्रदर्शन गरेका महिला होउन् या सिंहदरबार अगाडि नांगिएर आफ्नो हक र न्याय मागेका वादी महिला । यी प्रत्येक नांगोपनाले अर्थ पाउँछ । एउटै शर्त छ : त्यसको न्यूनतम् औचित्य स्पष्ट हुनुपर्‍यो । स्टन्ट अन्यत्र देशमा नहुने होइनन् । सांसदहरु कहिले कुटाकुट गरिरहेका, कहिले बजेटका ब्रिफकेस च्यातिरहेका घटना स्वदेश–विदेश जहाँतहीँ भएका छन् विगतमा ।

विश्वेन्द्र पासवानले पनि विगतमा संसदीय समिति बैठकमा लुगाफाटो नच्यातेका होइनन् । उनको नैतिक कद अग्लो हुन्थ्यो भने त्यसको ठूलै अर्थ हुन्थ्यो होला । गोविन्द केसी अनशन बसेका बेला एउटा पक्षले विजय थापालाई काउन्टर–अनशन हान्न लगायो । केसीको अनशन सत्याग्रह थियो । अर्को अनशन के थियो, बस्नेले नै अर्थ लगाउन् ।लोकप्रियतावाद घाँटी–घाँटीसम्म आइपुगेको जमानामा अमरेशले सर्ट खोल्दा विश्वेन्द्रको जति पनि अर्थ लाग्दैन । कांग्रेसबाट यसअघि सांसद बनेका अमरेश यति बेला शेरबहादुर देउवाको पजनीमा परेर ‘भयंकर स्वतन्त्र’ छन् । प्रत्येक अभिव्यक्तिमा केही न केही हंगामा खडा गर्ने कोशिस गरिरहन्छन् ।

असाध्यै चलायमान भइरहेको नेपाली राजनीतिमा अमरेशको अधीरता बुझ्न कठिन छैन । यति बेला उनीमात्रै होइन, अधिकांश नेताहरुमा अस्तित्व संकटको असुरक्षाभाव छ । उपचुनावपछि यो क्रम अझै बढेको छ । सम्पत्ति विवरणको नाममा एउटा टिपोट सुनाइदिएर झारा टार्नेदेखि कार्यप्रगति विवरण वा रिपोर्ट कार्डका नाममा टोलको बैठकमा भाग लिएको देखि गोष्ठी र लिटरेचर फेस्टिभलमा बोलेकोसम्म उल्लेख गर्ने सांसदहरु सबै लोकरिझ्याइँका हिस्सेदार हुन् । काम गर्नु होइन, गरेको जस्तो देखाउनु तिनको मक्सद हो । अमरेशको लुगा फुकाल्ने अभियान पनि यस्तै अर्को कर्म हो ।

संसदको अघिल्लो अधिवेशनमा जनमत पार्टीका अध्यक्ष सीके राउतले यस्तै मौनधारण कार्यक्रम गराए । राप्रपाकी सांसद विना जयसवालले गायत्री मन्त्र पाठ गर्दै थिइन् । कसैलाई योग या ध्यान गर्न मन लाग्ला । आ–आफ्ना आस्थाजन्य कर्म या कविता पाठ । प्रतिभा धेरथोर सबैसँग हुन्छ । जनताले त्यसको प्रष्फुटनका लागि यी सांसदहरुलाई संसद पठाएका होइनन् ।

संसदका क्रियाकलापहरु नियमहरुबाट निर्देशित हुन्छन् । तिनलाई सभामुखले अघि बढाउँछन् । सभामुखको स्वीकृति बेगर मनलाग्दी गर्न पाइँदैन भन्ने नियम स्वयं सांसदहरुले बनाएका हुन् । अझ अमरेश त प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा समितिका सदस्यसमेत थिए । अगुवाले नै बाटो फोहोर पार्दै हिँडेपछि नाकमुख छोप्नबाहेक के गर्न सकिन्छ र !

तर सभामुखमार्फत् संसदलाई, अनि संसदमार्फत् टिकटकलाई सम्बोधन गरिरहेका हाम्रा कतिपय माननीयलाई आफू के गर्दैछु भन्ने हेक्का छैन । आफ्ना सस्ता प्रचारबाजीले समग्र पद्धतिलाई कस्तो असर पर्छ भन्ने मतलब छैन । संविधानसभाताका नेपालको संक्रमणकालीन राजनीतिमा चर्चा र विवादमा आइराख्ने पात्र अमरेश सिंहले यति बेला फुकालेका कमिज र गञ्जीले हाम्रो देशको बेथितिलाई नंग्याउन सकेको भए सायद त्यसको अर्थ हुने थियो । तर अमरेश आज नांगिदा उनीमात्रै नांगिए ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार