• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बालकृष्ण खाण लाई ढोका फुटाएर प्रहरीले पक्राउ गरेपछि कांग्रेसमा भूकम्प


काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणको घरमा प्रहरीले बुधबार बिहानैदेखि रेकी गरिरहेको थियो । चाबहिलस्थित मैजुबहालको घरमा खाण रहेको एकिन भएपछि प्रहरी अधिकृतहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीलाई खबर गरे । डा.केसी घटनास्थलमा पुगेपछि बालकृष्ण खाणलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश गरेको थियो । खाण पत्नी मञ्जुसँग भिडियो कलमा कुराकानी गर्दै थिए ।

नरेन्द्र केसीलाई प्रहरीले पहिले नियन्त्रणमा लियो । नरेन्द्रलाई पक्राउ गरेपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्– ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।

बालकृष्ण खाण पक्राउपछि कांग्रेसमा भूकम्प, निष्पक्ष छानबिन गर्न नेताहरूको जोड
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसमा हलचल मच्चिएको छ ।

खाणलाई बुधबार बिहान प्रहरीले राजधानीको चुच्चेपाटीबाट पक्राउ गरेको हो । खाणलाई पक्राउ गरिए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको थियो । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यसैबीच खाण पक्राउपछि कांग्रेस नेताहरूले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताए । बुधबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले दोषीले सजाय पाउनुपर्ने बताएका हुन् । ‘जो–जो दोषी हो, उनीहरूलाई कारबाही हुनपर्छ, यसमा इफ र बटको कुरै छैन । उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन,’ उनले भने ।

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले कांग्रेसले निष्पक्ष छानबिनका लागि सहयोग रहने बताए । उनले भने, ‘प्रहरीले अनुसन्धान गर्दै छ । अदालतले एउटा फैसला गर्ला । हामी निष्पक्ष छानबिनको पक्षमा छौँ ।’

यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले दोषीलाई उम्काउने खेलमा कांग्रेस नलाग्ने बताए । ‘ यो हाम्रो मात्र चासोको विषय होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय हुन्छ । हामीले निष्पक्ष छानबिनका लागि अनुरोध गर्नुपर्छ,’ उनी भन्छन्, ‘निर्दोषलाई फसाउने होइन र दोषीलाई बचाउने होइन भन्ने हाम्रो कुरा रहन्छ । दोषीलाई उम्काउने खेलमा कांग्रेस लाग्दैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणकी पत्नी मन्जुलगायतसमेत प्रश्नको घेरामा छन् ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार