• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सानु भण्डारीले बयानमा ‘बालकृष्ण खाणलाई गृह मन्त्रालयमा गएर पैसा बुझायौँ’ भनेपछि खाँण पक्राउ


काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।बुधवार एसएसपी डा.मनोज केसी नेतृत्वको प्रहरीले उनलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ । ५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । उनकै बयानको आधारमा सन्दीप पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

चैत १२ मा पक्राउ परेका भण्डारीले तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको बयान दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । प्रहरीसँगको बयानमा सानुले भनेका छन्– ‘बालकृष्ण खाण र टेकनारायण पाण्डेलाई मन्त्रालयमै लगेर पैसा बुझाएका थियौँ ।’शरणार्थीको नाममा ठगेको आरोपमा थुनामै रहेका केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्– ‘मन्त्री खाण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’ १ करोड २५ लाख नगद खाण र पाण्डेले लिएको बयानसँगै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् ।

आफूलाई भुटानी शरणार्थीबारे जानकारी नभए पनि मोरङ घर भएका केशव दुलालमार्फत ३ वर्षदेखि यसबारे काम गरिरहेको उनले बयानमा बताएका छन् । बयानमा भण्डारीले भनेका छन्– ‘मलाई आइडिया थिएन, दुलालले यसो गरौँ भनेपछि अलिअलि भएको पैसा लगानी गरेर यसमा लागेको हुँ ।’ अमेरिका पठाउने आश्वासन आफूले ५० जनासँग पैसा उठाएको र घर जग्गा बेचेर गृहमन्त्री र सचिवलाई ‘घुस रकम’ दिएको बयान दिएका छन् । शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको छ ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार