• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बूढानीलकण्ठ स्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा रायमाझी पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्करी शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।पक्राउ पूर्जी जारी भएको दिन राति ९ बजे उनी भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । त्यहीबेला उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर करिब १५ मिनेट कुराकानी गरेका थिए । त्यसक्रममा रायमाझीले आफूविरुद्ध पक्राउ पूर्जी जारी भए/नभएकोबारे सोधेका थिए ।

जवाफमा कुँवरले ‘आफूलाई त्यसबारे थाहा नभएको बताउँदै सम्बन्धित प्रहरी परिसरका प्रमुख वा त्यहाँका अधिकृतसँग सम्पर्क राख्न’ भनेको स्रोत बताउँछ । आईजीपीसँगको कुराकानीमा रायमाझीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका थिए । अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर काठमाडौं आएनन् । उनको प्रदेश ३–०१–०२२ च–०५८२ नम्बरको गाडी लिएर चालक मात्र आए ।उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । उनीहरुको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको प्रहरी बताउँछ । तर, रायमाझीले महानिरीक्षक कुँवरसँग आफूहरुसँग त्यस्तो कुनै चेक नआएको भन्दै फसाउन खोजिएको दाबी गरेका थिए । सानु भण्डारी गाउँले भएकाले चिनजान भएको बताउँदै अरु सिलसिलामा भेट भएको विषयलाई तोडमोड गरेर फसाइएको दाबी महानिरीक्षक कुँवरसमक्ष उनले गरेका थिए ।

अर्का आरोपी केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको निजी सचिव थिए । ‘त्यतिबेला म पनि शान्ति प्रक्रियाको काममा संलग्न भएकाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उहाँसँग पनि भेट भइराख्थ्यो’, रायमाझीले प्रहरी प्रमुखसँग दाबी गरेका छन्, ‘त्यहीक्रममा चिनजान भएपछि सम्पर्क र भेटघाट हुन थालेको हो, मैले गलत उद्देश्यले केही गरेको छैन ।’ उनले अर्कै प्रसंगमा घुम्न गोसाइँकुण्ड गएको विषयलाई पनि जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे,खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन्।पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार