• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

भुटानी शरणार्थी प्रकरण : आफन्तको घरमा लुकेका थिए टोपबहादुर


काठमाडौँ । आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए । वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका हुन् ।

प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्यूरो’ले उनलाई निगरानी गरिरहेको थियो । आइतबार साँझ ब्यूरोको टोली टोपबहादुर बसेको घरमा पुग्यो । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्यूरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।

उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए । शरणार्थी प्रकरणमा सोह्रखुट्टे वृतको थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी वृत दरबारमार्गमा अड्डासार गरिएको छ ।

पक्राउ गरेपछि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षण गर्नेबेला चिकित्सकसँग रायमाझिले भनेका थिए, ‘एक गिलास बियर लिएको छु ।’ उनलाई म्याद थपको लागी प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा रायमाझी पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार