• २०८१ असोज २७ गते आइतवार
  • Preeti To Unicode

५० हजारमा सीजी बेटको प्रचार गरेकी सुष्मा कार्की भन्छिन्ः नेपालमा गैरकानूनी छ भन्ने थाहै भएन


काठमाडौं । नायिका सुष्मा कार्कीले आफूले नेपालमा अनलाइन सट्टेबाजी गैरकानूनी हो भन्ने थाहा नपाएर विज्ञापन गरेको बताएकी छिन् । ‘सीजी बेटबुक’ नामक अनलाइन बेटिङ प्लेटफर्मकाे प्रचारका लागि नायिका कार्कीले ५० हजार रुपैयाँ रकम लिएर विज्ञापन गरेकी थिइन् । सीजीबेटले सुष्मा कार्कीसहित नेपाली कलाकारहरू सुरविना कार्की, उषा उप्रेती, सामरिका ढकाल लगायतलाई पैसा दिएर प्रचारात्मक भिडिओ बनाएको छ । यी भिडिओ सीजीबेटले आफ्नो वेबसाइटदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा राखेको छ ।

आफूलाई बेटिङ तथा क्यासिनो एपको कारोबार नेपालमा वैधानिक भएको ‘कन्भिन्स’ गरिएकाले भिडिओ खेलेको सुष्माले प्रतिक्रिया दिइन् ।टेकपानासँग कुरा गर्दै कार्कीले भनिन्, “कति धेरै कलाकारले भिडिओ बनाउनु भएको थियो । मलाई पनि विज्ञापन गर्दिन पर्‍यो भनेर उहाँहरू (सीजीबेटको टिम)आउनु भएको थियो ।”सुरुमा हिन्दी भाषामा बोलेर भिडिओ बनाउन भनेको भएपनि आफूलाई हिन्दी असहज हुने भएकाले नेपालीमै बनाउन राजी भएको उनले सुनाइन् । “हिन्दीमा गर्नुपर्छ भनिराको थियो । मलाई फेरि हिन्दी आउँदैन भने,” उनले भनिन् ।

क्यासिनोको कुरा गरेपछि उनले उक्त एप नेपालमा कानूनी हो वा गैरकानूनी हो भन्ने बुझ्न खोजेकी थिइन् । “नेपालमा यो कानूनी हो । हामीसँग कागजात छ भनेपछि ढुक्क भएर भिडिओ बनाउन राजी भएँ,” उनले भनिन् ।सुरुवातमा फुर्सद नभएको भन्दै टार्न खोजे पनि सीजी बेटको टिम आफ्नै रेस्टुरेन्टमा आएपछि आफूले भिडिओ बनाइदिएको उनकाे भनाइ छ । “अब हामी त कलाकार हो । पैसा दिएपछि गर्नु त परिहाल्यो, आपत् परिरहेको बेलामा…,” कार्कीले थपिन् ।

भिडिओ बनाइदिन भन्दै आएको मान्छे भारतीय मूलको भएको र आफूले नचिन्ने उनकाे भनाइ छ । “उसलाई म त्यति राम्ररी चिन्दा पनि चिन्दिनँ । त्यो मान्छे इन्डियन नै हो । त्यो मान्छेलाई पछि मैले सम्पर्क गर्न खोजेँ । तर, सम्पर्क नै हुन सकेन,” उनले भनिन् ।आफू सोझो मान्छे, कलाकार भएकाले आफ्नो धर्म निभाउन खोजेको भए पनि भिडिओ बनाउन लगाउनेले पैसा दिएर बेवकुफ बनाएको कार्कीको बुझाइ छ ।

भन्छिन्, “मलाई आफूले भिडिओमा भनेका कुराहरू केही पनि थाहा छैन । म अड्कीअड्की बोलिरहेको थिएँ ।” पैसाको एकदमै खाँचो परेकाले पनि त्यति ख्याल नगरेर भिडिओ बनाइदिएको उनले बताइन् ।

विज्ञापनमा उनी भन्छिन्, “हेल्लो फ्रेन्ड्स कस्तो हुनुहुन्छ तपाईंहरू ? तपाईं घर बसेर बोर त हुनु भएको छैन ?,” प्रचार गर्दै टिकटकरहरू भन्छन्, “इफ बोर हुनुभएको छ भने म तपाईंहरूलाई ल्याएर आएको छु एसियाकै मस्ट ट्रस्टेबल लिगल लाइसेन्स गेमिङ एक्सचेन्च ‘सीजी बेट बुक’ । लाइभ गेममा तपाईंहरू क्रिकेट फुटबल टेनिस, क्यासिनो खेल्न सक्नु हुनेछ त्यही पनि घर बसी बसी । सो, छिट्टो जानुस् तल दिइएको लिङ्कमा क्लिक गरेर आईडी प्राप्त गर्नुहोस् । या हाम्रो तल दिइएको ह्वाट्सअप नम्बरमा पनि आईडी प्राप्त गर्न सक्नुहुनेछ । सो गाइज एकदमै छिटो जानुस्, आफ्नो आईडी बनाउनुस्, र एकदमै धेरै पैसा जित्नुहोस् । बेस्ट अफ लक !”


सो भिडिओ बनाइदिए वापत कार्कीलाई कम्पनीले ५० हजार रुपैयाँ दिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ साइटको प्रचार गर्नेहरूलाई पक्राउ गर्न थालेको छ । बिहीबार विभिन्न कलाकार र युट्युबर गरी आठ जना पक्राउ परेका छन् । प्रहरीले प्रचार गर्ने अन्यमाथि पनि निगरानी गरिरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार