• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश


काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहसमा २ लक्ष्मी महर्जन र टंक राईलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो । टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।जिल्ला अदालतमा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । सो मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका थिए । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा गत जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । लगत्तै अदालतमा अभियुक्तहरुको बयानपछि जेठ २१ बाट थुनछेक बहस सुरु भएर बिहीबारसम्म चलेको थियो । त्यसअघि शुक्रवार सरकारी वकिल र जाहेरीकर्ताका वकिलले जवाफ दिएपछि अदालतको थुनछेक आदेश आएको हो । अदालतमा सरकारी वकिल तथा पीडित तर्फका कानुन व्यवसायीले कुल ३ दिन र प्रतिवादी तर्फका कानुन व्यवसायीले ८ दिन बहस गरे ।

मुद्दामा प्रतिवादीहरूका तर्फबाट १८ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरे । जाहेरवालाको तर्फबाट निजी कानुन व्यवसायी अधिवक्ता भद्र प्रसाद नेपाल, हरि प्रसाद कँडेल, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र राधिका चौलागाईंले बहस गरे । यसैगरी पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, जिल्ला न्यायाधिवक्ताहरु जनकप्रसाद घिमिरे, सिताराम अर्याल, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सुरबहादुर परियार, प्रकाश घिमिरे, निर्मला मरासिनी र हिरालाल भोलनले बहस गरे ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती, सुशील पन्त, शिवप्रसाद रिजाल, रमेश बडाल र बालकृष्ण न्यौपाने सहित १८ जनाले प्रतिरक्षा गरे । शरणार्थीको नाममा सङ्गठित रूपमा ठगी धन्दा चलाउनेहरूको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुमा प्राडा नृसिंहकुमार खत्री, रमनकुमार श्रेष्ठ, विनोद कार्की, बालकृष्ण ढकाल र प्रकाश केसी छन् ।यस्तै वरिष्ठ अधिवक्ता देवेन्द्रबहादुर थापाले पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीको तर्फबाट प्रतिरक्षा गरे । रामशरण केसीको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस गरे ।

पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, महादेव यादव, प्रेम बहादुर खड्का, हरिहर दाहाल, प्राडा नृसिंहकुमार खत्री, रमन श्रेष्ठ, सुरेन्द्रकुमार महतो, गोपालकृष्ण घिमिरे र खम्मबहादुर खातीले बहस गरे । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको तर्फबाट वरिष्ठ अधिवक्ता शरद कोइरालाले प्रतिरक्षा गरे ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार