• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री संखुवासभामा


संखुवासभा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा आइपुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा केहीबेर अघि अवतरण गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत् सोमबार बिहान पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा आइपुगेका हुन्।शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन्।

बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका हुन्। सम्पर्क विहीनहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचखपन नगरपालिका ५ स्थित हेँवा खोला किनारमा एक शव भटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका जनाएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा शवको भेटिए पनि शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचमा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो।बाढी खोला किनारमा रहेको ७ भन्दा बढी घर बगाएको स्थानीले जनाएका छन् ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको छ । हेंवा र पिलुवा खोलामा आएको बाढीका कारण भएको क्षतिको थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार