• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन : शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पतालमा


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो ।एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले अनलाइनखबरलाई बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

स्तब्ध भएँ : राष्ट्रपति
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मर्माहत भएँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए ।नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । भोलि (बुधबार) सम्म श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले बताए ।

शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पतालमा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु पनि अस्पतालमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा छन् ।चिकित्सकहरुका अनुसार, नेम्वाङ बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारले अस्पताल लगेका थिए । राति १ः५० बजे अस्पतालमा पुर्‍याइएपनि चिकित्सकहरुले त्यसअघि नै उनको निधन भइसकेको घोषणा गरेका थिए ।नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि केहिवेरपछि एमाले पार्टी कार्यालय च्यासल लगिँदैछ । भोलि (बुधबार) सम्म उनको शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले बताए ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार