• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

करिब दुई करोड नक्कली नेपाली नोट सहित भारतीय नागरिक पक्राउ

ठुलो गिरोहनै सक्रिय रहेको हुनसक्ने प्रहरीको आशंका

सुनसरी। सुनसरीको ईनरुवा नगरपालिका-४ बाट प्रहरीले करिब दुई करोड बराबरको नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै भारतको विहार राज्य सुपौल जिल्ला थाना बिरपुर बस्ने २२ वर्षका छोटु भनिने महम्मद शैयाद साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार सुनसरीको भण्टाबारी नाका हुँदै इटहरी तर्फ आइरहेको विआर ११ एक्स् ३४२९ नम्बरको सेतो महेन्द्र स्कारपियो चेकजाँच गर्नेक्रममा प्रहरीले उक्त रकम फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक बिपिन रेग्मीले साफीका साथबाट एक हजार दरका एक करोड वयासी लाख एकाउन्न हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको बताए ।

नक्कली नोट सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रेग्मीले बताए । भारतीय सीमावर्ती क्षेत्रका जिल्लाहरुमा ठुलो परिमाणमा नक्कली नेपाली नोट फेला पर्नेक्रम बढेको भन्दै कारोबार गर्ने ठुलो गिरोहनै सक्रिय रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

सुनसरी प्रहरीले गत अशोज ५ गते पनि इटहरीबाट १५ लाख रुपैयाँ भन्दा बढीको नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा संखुवासभा पांचखपन नगरपालिका-५ का बिबेक राई र संखुवासभा मकालु गाउपालिका-६ बस्ने अजय राई रहेका थिए । उनीहरुको साथबाट एक हजार दरका १५ लाख ८७ हजार रुपैया नक्कली नोट बरामद गरेपनि मुख्य गिरोहसम्म प्रहरी अझै पुग्न सकेको छैन ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार