• २०८१ बैशाख २७ गते बिहिवार
  • Preeti To Unicode

श्रीमतीको दोस्रो बिहे गराइदिएको रिसईबीले केराबारीमा माइजू र बहिनीमाथि खुकुरी प्रहार

खुकुरी र पेस्तोलसहित ४ राउण्ड गोली बरामद

 

केराबारी । मोरङको केराबारी-९ भलुवामा बिहीबार बिहान आमा-छोरीमाथि खुकुरी प्रहार भएको छ । अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राईमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएका दुवैजनाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

बिहीबार विहान जमुनादेवीकी भान्जा लेटाङ नगरपालिका–१ का अन्दाजी ५२ वर्षीय नीरकुमार राईले बिहान ९:३० बजेतिर खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार आफूबाट अलग बनाएर माइजुले श्रीमतीको दोस्रो बिहे गराइदिएको भनी रिसईबी राखेर बसेका नीरकुमार आक्रमणको योजनासहित बिहानै खुकुरी र पेस्तोल बोकेर जमुनादेवीको घरमै पुगेका थिए । पेस्तोल भने प्रहार नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरुमा उनले माइजू जमुनादेवीलाई खुकुरीले हानेका थिए । त्यसपछि छुट्याउन गएकी रेणुकालाई पनि प्रहार गरिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार भएपछि जमुनादेवीका परिवारले प्रतिकार गर्दा नीरकुमारसमेत घाइते भएको प्रहरीको भनाइ छ । अनुहारमा चोट लागेका उनलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीले उपचारका लागि नगर अस्पताल बेलबारीमा भर्ना गरेको छ । प्रहरी नियन्त्रणमा उपचार गराइरहेका उनी बोल्न सक्ने अवस्थामा छैनन् । माइजू र माइजूकी छोरी बहिनीलाई खुकुरी प्रहार गरेका उनको साथबाट एउटा सक्कली र अर्को नक्कली पेस्तोलसमेत फेला परेको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। अवस्था मध्यम रहेका जमुनादेवी राई र उनकी छोरी रेणुका राईलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार