• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्समा आगलागी, नियोजित ढंगले आगो लगाइएको आशंका


विराटनगर । बन्द अवस्थामा रहेको मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको उद्योगमा मंगलबार राति आगलागी भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आगलागीमा २० लाख बराबरको क्षति भएको खुलेको छ । आगोले जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेर क्षति भएको छ भने मिल्सका २ वटा मेसिनमा समेत आंशिक क्षति पुगेको बताइएको छ । सरकारी स्वामित्वको जुट मिल्स २०७८ साल माघदेखि बन्द थियो । बन्द अवस्थाको जुट मिल्समा राति ९ बजेतिर अचानक आगलागी सुरु भएको हो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट आगलागी सुरु भएको र नियन्त्रणमा लिन निक्कै समय लागेको जानकारी प्राप्त भएको छ । नेपाल एवं सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोगमा बुधबार बिहानका राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

२ वर्षदेखि बन्द अवस्थामा रहेको जुटमा एक्कासि आगलागी हुनुले घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ । घटनाको प्रकृति हेर्दा कसैले आगो लगाएको जस्तो देखिएकाले दायरा फराकिलो पारेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । घटनामा कोही कसैको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार