• २०८१ बैशाख २७ गते बिहिवार
  • Preeti To Unicode

नारा लोपोन्मुख रैथाने खानाहरुको संरक्षणः न रैथाने खाना, न रैथाने सँस्कृति


 

सुनसरी । लोपोन्मुख रैथाने खानाहरुको संरक्षणसँगै प्रवद्र्धन गर्न भन्दै आयोजना गरिएको दोस्रो इटहरी परम्परागत खाना महोत्सव नामको मात्रै परम्परागत बनेको छ । महोत्सवमा राखिएका स्टलहरुमा रैथाने खाना र रैथाने पन भन्दा पनि फास्ट फुड पसलहरुमा पाइने जङ्क फुडहरुले वर्चश्व जमाएको छ ।

महोत्सव सुरु हुन अघि, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिको खानालाई प्राथमिकतामा राखेर खाना संस्कृतिको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फुड फेष्टिबलको आयोजना गरिएको बताएको थियो । ‘ खाना महोत्सवले इटहरीको प्रथम नागरिक थारुसहित यस क्षेत्र आसपास बसोबास गर्ने आदिवासी जनजातिहरुको जातीय परिकारको प्रवद्र्दन हुन्छ’, संघका अध्यक्ष तेज बहादुर पुरीले भनेका थिए,‘फुड फेस्टिबलमा जातीय खानालाई नै फोकस गरिनेछ ।’ तर रैथाने परम्परागत खाना तथा सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने भनिएपनि कुरामा मात्रै सिमित भएको छ ।

प्रदेशमा बसोबास गर्ने आदिवासी जनजाति तथा खसआर्यहरुले पुस्तौँपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा जस्तै ढेडो, च्याख्ला, तामाको अचार तथा तरकारी, वाचिपा(तिते), टिमुरको अचार, भक्का, बगिया, फिलेङ्गेको अचार, किनेमा, याङबेन, टोटोलाको फुलबाट बनेको परिकार, सिस्नो, खिर, सिन्की, गुन्दु्रक, चुकौनी, क्वाँटी, ढिक्रि, घोङ्गी र कन्दमुलहरु राखिएको देखिदैन ।

रैथाने खानाको नाम दिएर केही कोशीको माछा र सेलरोटी मात्रै राखिएका छन् । इटहरीको प्रथम नागरिकका रुपमा रहेको थारु जातिले पुस्तौँदेखि खाँदै आएको भक्का, बगिया, घोङ्गी, ढिक्रिसमेत खाना महोत्सवमा राखिएको छैन । स्टलहरुमा यहाँका परम्परागत खानाका परिकारको सट्टा प्राय सबै आइसक्रिम, पानिपूरी, चाउमिन, ‘बबल टि’ तथा मदिराजन्य पेयपदार्थले भरिएका छन् ।

त्यस्तै, खाना प्रत्यक्षरुपमा जनजिवन, रीतीरीवाज, चाडपर्व, भुगोल, प्रकृति एवं हावापानीसँग जोडीने हुँदा खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने आयोजकले बताएपनि रैथाने जनजीवन झल्काउने जातीय पहिरन र रहनसहनमा पनि ध्यान नदिएको देखिएको छ ।

जनजीवन झल्काउने बताइएपनि साँस्कृतिक कार्यक्रम नाम दिइएको गित–संगित र नृत्यमा पनि उद्घाटनमा प्रस्तुत गरिएको नृत्यबाहेक अधिकांश भारतीय गितमा, डिस्कोमा जस्तो विदेशबाट आयात भएका नृत्य शैलीको प्रस्तुति मात्रै प्रस्तुत भएका छन् । नेपाली मौलिक नृत्यहरु जस्तै मारुनी, टप्पा, साकेला, संगिनि, च्याब्रुङ्ग नाच, हुर्रा, कौडा, घाटु, झिझिया, सन्थाल नृत्य, सेलो, धिमे नाचआदिलाई भने दिनमा एउटा पनि महोत्सवमा प्रस्तुत गरिएको छैन । यसबारे संघका अध्यक्ष पुरीले यूवा पस्तालाई आकर्षित गर्नका लागि मौलिकतालाई प्रथामिकतामा नराखिएको बताए । संघका अध्यक्ष पुरीले भने,‘ हामीले पुराना कुराहरु हेर्न छाड्यौँ, डिस्कोमा जान थालेका छौँ । त्यसैले रमाइलो कुराहरु राखेका हौँ ।’

यसविषयमा राजनीतिक विश्लेषक एवं सँस्कृतिविद् प्रा.डा. बिद्री विशाल पोखरेलले परम्परागत खाना महोत्सवमा रैथाने खाना नदेखिनु भनेको झारो टार्ने काम मात्रै भएको बताएका छन् । देखासिखी गर्ने परम्पराले पारेको दूष्प्रभावको परिमाण देखा परेको उनको भनाइ छ । उनले भने,‘हामी दूष्प्रभावित भएका छौँ। हाम्रो खाना, नाना, छाना सारा कुराहरु भड्काउ, देखावटी बनेको छ ।’ विभिन्न नाम दिएर सरकारबाट रकम हात पार्ने र त्यसको दोहन गर्ने खेल भएको उनी बताउछन् ।

इटहरी उपमहानगरको संरक्षकत्वमा फाल्गुण १ गतेदेखि सुरु भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोग रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार