• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

सस्तोमा बेच्ने भएपछि जुत्ता महोत्सवमा इटहरी उद्योग वाणिज्य संघको अवरोध, उद्घाटन मात्रै रोकेरे जुत्ता बेच्न थाले आयोजक


सुनसरी । ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा आयोजना गरिएको इटहरी प्रथम जुत्ता चप्पल महोत्सव २०८० उद्घाटनमा इटहरी उद्योग वाणिज्य संघले अवरोध गरेको छ । महोत्सवको उद्घाटनको दिन नै संघले आयोजक शुभकामना फुटवेर इण्डष्ट्रिज प्रा.लि.लाई महोत्सव बन्द गर्न भनेपछि शुक्रबार हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित गरेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

फागुन ११ देखि चैत २५ गतेसम्म ३५ दिनका लागि सञ्चालन हुने महोत्सव इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्ने तय भएको थियो तर स्थानीय व्यापारीले विरोध जनाएपछि इटहरी उद्योग वाणिज्य संघले महोत्सव स्थगित गर्न निर्देशन दिएको आयोजक समिति अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नानीराज घिमिरेले बताए । शुक्रबार दिउँसो उद्योग वाणिज्य संघ इटहरीको भवनमा भएको छलफलमा महोत्सव कुनै पनि हालतमा गर्न नदिने अडान स्थानीय व्यापारीले राखेको घिमिरेले जानकारी दिए । उनकाअनुसार उद्योग वाणिज्य संघको छलफलपछि स्थानीय व्यवसायी इटहरीका नगरप्रमुख समक्ष पुगेका थिए । नगरप्रमुख पौडेललाई स्थानीय व्यापारीले गुनासो राखेपछि शुक्रबार हुने उद्घाटन कार्यक्रम स्थगित गर्न पौडेलले पनि आयोजकलाई आग्रह गरेको घिमिरेले बताए । ‘हामीले नगर, जिल्लाबाट स्वीकृति लिएर जुत्ता मेला आयोजना गरेका हौँ । नेपाली बजारमा स्वदेशी जुत्ताको प्रमोशन गर्ने हाम्रो उदेश्य हो तर हामीले सस्तोमा जुत्ता बेच्दा आन्तरिक व्यापारमा असर पर्ने भन्दै इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले महोत्सव रोक्न भन्नुभयो ।,’ घिमिरेले भने,‘ मेयरसापले पनि उद्घाटन पोष्टपोण्ड गर्न आग्रह गर्नुभयो ।’

त्यस्तै महोत्सवका संयोजक होमनाथ उपाध्यायले यसअघि बुटवल, जनकपुर, विर्तामोडलगायतका स्थानहरुमा सफल रुपमा जुत्ता महोत्सव सञ्चालन गरिएको बताउदै स्थानीय व्यवसायीलाई धेरै असर पर्ने भएकाले महोत्सव बन्द गर्नुपर्ने अडान संकुचित मानसिकताको उपज भएको आरोप लगाए । कानुनी अधिकार प्रयोग गरी स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुची जगाउने उद्देश्य मुख्य राखिएको महोत्सव रोक्न खोज्नु न्यायसंगत नहुने उपाध्यायले बताए । स्थानीय व्यापारीसँग प्रतिस्पर्धा गर्न नभई, साथ दिन आएको बताउदै उनले भने,‘ हामी सहकार्य गरेर अघि बढ्ने मनशायले आएका हौँ । तर हामीलाई उद्घाटनको दिनमा आएर ब्रान्डिङ मात्र गर्नु, जुत्ता नबेच्नु भन्नुभयो । यो भनेको संकुचित मानसिकता राख्नुभएको हो । अरु केही होइन’ । शुक्रबार तय गरिएको महोत्सवको उद्घाटन मात्रै रोकिएको तर महोत्सव नरोक्ने आफूहरुले निणर्य गरेको उपाध्यायले बताए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार