• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक


काठमाडौँ । आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– १ मा हुन लागेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

उपनिर्वाचनका लागि निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ। चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा थानेश्वर भुसालले जानकारी दिए ।

कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ।

आयोगकाअनुसार २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार