• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’


भद्रपुर । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार मङ्गलबार एक समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गरेका हुन्।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए। आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेकाले डा. रुइतलाई सम्मान गरिएको बताए।

वि.सं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट जन्मिएका डा. रुइतले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गरेका छन् ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उनलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गरेका थिए।

तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गर्नुभएको छ । उहाँलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो ।

 

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार