• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

नेपाली ख्रीष्टियान नागरिक संघको आयोजनामा स्वास्थ्य शिविर, तीन सय बढीले लिए सेवा


मोरङ। केराबारी गाउँपालिका-९ नम्बर वडाको प्रायोजन तथा नेपाली ख्रीष्टियान नागरिक संघको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा केराबारी-९, बेलचौरीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन सय बढी स्थानीयले सेवा लिएका छन् ।

स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, दन्तरोग, आँखा, नाक, कान, घाँटी विशेषज्ञ, बालरोग एवं शल्यक्रिया विशेषज्ञ डाक्टरहरुद्धारा भिडियो एक्सरे, इसिजिसहितको सेवा प्रदान गरिएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । दाहालका अनुसार अस्पतालसम्म जान नसक्ने विरामीहरुका लागि घरआगनमै आएर निःशुल्क रुपमा विशेषज्ञ चिकित्सकद्धारा प्रति व्यक्ति ३५ सय रुपैयाँ बराबरको सेवा प्रदान गरिएको छ ।

त्यस्तै, आयोजक नेपाली ख्रीष्टियान नागरिक संघ मोरङ शाखाका सचिव धन बहादुर राईले आर्थिक विपन्न व्यक्ति, रोगबाट संक्रमित भएका व्यक्तिहरु तथा सबै उमेरसमूहका व्यक्तिहरुको स्वास्थ्यमा पहुँच विस्तार गर्न सेवा भावले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । त्यस्तै केराबारी-९ का वडा अध्यक्ष गोपाल राईले व्यस्त समयका कारण नागरिकले स्वास्थ्यको ख्याल राख्न नसकिरहेको अवस्थामा स्वास्थ्य शिविर लाभदायी बनको बताए ।

स्वास्थ्य शिविरअघि आयोजना गरिएको औपचारिक कार्यममा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले स्वास्थ्य शिविरले नागरिकमा स्वास्थ्य सजकता वृद्धि गर्नुका साथै विरामीहरुलाई उपचारसम्म डोर्याउन मद्दत गर्ने बताइन् । त्यस्तै नेपाली ख्रीष्टियान नागरिक संघका प्रवक्ता टिका आचार्यले, मोरङ शाखाले विपन्न वर्गहरु लक्षित स्वास्थ्य शिविरको आयोजना गरेको प्रति धन्यवादसाथै शुभकामना व्यक्त गरे । त्यसैगरि संघका मोरङ जिल्ला अध्यक्ष कबिन्द्रमणि राईले स्वास्थ्य शिविर सफल पार्न स्थान उपलब्ध गराउनका साथै अन्य सहयोग उपलब्ध गराएको प्रति स्थानीय तथा तमु बौद्धिष्ट गुम्बा बेलचौरीप्रति धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार