• २०८१ जेष्ठ ७ गते सोमवार
  • Preeti To Unicode

‘‘एचआईभी संक्रमितलाई औषधिको पहुँचमा ल्याउनैपर्छ, नत्र भविष्यमा समस्या हुन्छ’’


सुनसरी । एचआईभी भाइरसको जोखिम, नियन्त्रण तथा वर्तमान अवस्थाबारे स्वास्थ्य कार्यालय सुनसरीको जिल्ला स्तरीय सरोकारवालाहरुसँग समन्वय बैठक बसेको छ । शुक्रबार इटहरीमा आम्दा नेपाल सुनसरी र मानव कल्याण समाज सुनसरीको सहयोगमा बैठक बसेको हो ।

बैठकमा एचआईभी भाइरसको बढ्दो जोखिमलाई घटाउन विभिन्न संघसंस्था, निकायहरुले खेल्नुपर्ने भूमिका, चुनौतिका विषयमा छलफल गरिएको थियो । बैठकमा बोल्दै सहभागिहरुले सरकारबाट एचआईभि परिक्षण तथा रोकथाममा प्रयोग गरिने किट र औषधिहरु पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको गुनासो गरे । सरकारले आगामी सन् २०३० सम्ममा एचआईभीलाई शून्यमा पुर्याउर्ने लक्ष्य लिएपनि कतिपय संक्रमितहरुले एन्टी रेट्रोभाइरल थेरापी एआरटीको सेवन बिचमा नै छोड्दा संक्रमण नियन्त्रणमा आउन सकस परेको उनिहरुले बताए ।

बैठकमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ, कोशि प्रदेश सुपरभाइजर रोमन कुमार राईले सुनसरीमा नौ सयबढीले एआरटीको सेवन गरिरहे पनि कतिपय संक्रमितहरु विभिन्न कारणले औषधिको पहुँच बाहिर रहेको जानकारी दिए । जिल्लामा सेभ द चिल्ड्रेन र इपिक नेपाल गरि दुईवटा डोनरले सहयोग गरिरहेको उनले बताए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सभा, गोष्ठि भन्दा पनि समुदाय स्तरमा बढिमात्रामा काम गर्नुपर्ने बताए । सरकारसँगै सम्पूर्ण सरोकारवालाहरु एकअर्काले गर्ने कामलाई जोडेर समन्वयकारी भूमिका निर्वाह गर्दै अघि बढे राम्रो नतिजा प्राप्त हुने र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने उनले बताए ।

त्यस्तै स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य प्रमुख सागर प्रसाईँले एआरटीमा आएका संक्रमितहरुहरुले औषधि सेवनबीच मै छाड्नाले भिविष्यमा समस्या विकराल बन्न सक्ने बताए । उनिहरुलाई विभिन्न तरिकाले सम्पर्कमा ल्याएर औषधि सेवन गराउनका लागि एचआईभी रोकथाम तथा न्यूनिकरणका क्षेत्रमा काम गर्ने सरोकारवालाहरु लाग्नुपर्ने बताए ।

स्वास्थ्य प्रमुख प्रसाईँले संक्रमितहरुले प्रयोग गर्ने औषधि तथा किटको पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको गुनासोलाई सम्बोधन गर्दै सरोकारवाला तथा एआटी सेन्टरहरुबाट माग कम मात्रामा हुने गरेको बताउदै आगामि दिनमा त्यसलाई सुधार गरेर अघि बढ्ने बताए । बैठकमा एचआईभी संक्रमित र उनिहरुका सन्तानलाई हुने गरेको लान्छना, सरकारी कागजातमा हुने समस्यालगायत अन्य विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार