• २०८१ भाद्र २२ गते शनिवार
  • Preeti To Unicode

आज प्रधानमन्त्रीको रुपमा तेस्रो पटक मोदीको शपथ, प्रधानमन्त्री प्रचण्ड पनि कार्यक्रममा सहभागि हुने


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् । मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए ।

एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह आइतबार साँझ ७: १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् । निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।

नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आज  बिहान दिल्लीतर्फ जाने भएका छन् । परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आज दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ । प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ ७: १५ बजे शपथ लिने भएका छन् । केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले सपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।

भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार