• २०८१ भाद्र २२ गते शनिवार
  • Preeti To Unicode

बाढीमा माछा मार्ने क्रममा बूढीखोलाले बगाएर युवतिको मृत्यु


इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकालाई सिमाना भएर बग्ने बूढीखोलाले बगाएर एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ५ की प्रेमकला चौधरीको रहेकी छिन् ।

मंगलबार बिहान अविरल वर्षासँगै आएको बाढीमा माछा मार्ने क्रममा प्रेमकलासहित चारजनालाई बगाएको थियो । प्रेमकलासँगै सुन्दरहरैँचा ५ की २२ वर्षीया स्वस्तिका चौधरी, सोही स्थानकी ३० वर्षीया फूलकुमारी चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बगाएको हो।

जसमा स्वस्तिकाको सकुशल उद्धार गरिएको छ भने प्रेमकलाको इटहरी ४ स्थित गैरीगाउँस्थित शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पुष्टि गरे । उनले भने,‘माछा मार्ने क्रममा खोक्सी भन्ने ठाउँबाट चारैजनालाई बगाएको रहेछ, जसमध्ये दुईजनाको अझै खोजी भइरहेको छ।’ उनका अनुसार मोरङ प्रहरी, सुनसरी प्रहरी, स्थानीयबासीसहितले खोजीको क्रम जारी राखेका छन् ।

बाढी आएर पानीको बहाब उच्च भएको खोलामा माछा मार्न र दाउरा टिप्न स्थानीय महिलाहरूसँगै उनीहरू पनि गएको खुलेको छ । मृतक प्रेमकलाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार