एजेन्सी । भारतका चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलबार राति निधन भएको छ । केके नामले परिचित उनको ५३ वर्षको उमेरमा कोलकातामा निधन भएको छ ।
कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।
अस्पतालमा पुगेका पश्चिम बंगालका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकले हृदयघातबाट उनको निधन भएको हुनसक्ने प्रारम्भिक जानकारी दिएका छन् । कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका थिए । बलिउडसहित तमिल, तेलुगू, कन्नड, मराठी, बंगाली र गुजराती फिल्ममा समेत उनले गीत गाएका थिए ।
निधनभन्दा केही समयअघि उनले कोलकातामा भएको कन्सर्टका तस्वीर र भिडियो सेयर गरेका छन् । केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । हिन्दी, तमिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउडमा डेब्यु गरेका थिए । हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन ।
एल्बम पलबाट उनले सांगीतिक करियर थालेका थिए । ‘बजरंगी भाइजान’को गीत तु जो मिला, ‘ओम शान्ति ओम’को अजब सी, ‘वो लम्हे’को क्या मुझे प्यार है, ‘रेडी’को हमको प्यार हुवा, पल एल्बमको पल, ‘काइट्स’को दिल क्यों ए मेरा, ‘भूल भुलैया’को लबों को, ‘द ट्रेन’को बिते लम्हे, ‘हम दिल दे चुके सनम’को तडप तडप, ‘दश’को दश बहाने लगायत उनका चर्चित गीत हुन् ।
केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए। अमितकी पत्नी रीमा गांगुलीले फेसबुकमार्फत केकेको मृत्युको जानकारी दिएकी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्।
Discussion about this post