इटहरी । सुनसरीको रामधुनी (झुम्का) मा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत पुष महिना अघि नै छिमेकी युवकले ती बालिकामाथि पटक पटक बलात्कार गरेपनि घटना केहीदिनअघि मात्रै सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार रामधुनी नगरपालिका वडा नं. ३ का २४ वर्षीय विश्वमणि आचार्यले छिमेकी बालिकालाई पटकपटक बलात्कार गरेको खुलेको छ । केही दिनअघि घटना सार्वजनिक भएपछि पीडितका बुवाले आत्महत्या गरेको पनि खुलेको छ । ‘पुष १८ गते बलात्कार भएको र त्यसको दुई महिनापछि घटना सार्वजनिक भएकै दिन उनका बुबाले आत्महत्या गरेको खुलेको छ,’ डीएसपी कार्कीले भने, ‘आत्महत्या गर्ने पुरुष केही समयदेखि डिप्रेसनको रोगी पनि हुनुहुन्थ्यो भन्ने खुलेको छ ।’
पीडितकी आमाका अनुसार आफ्नी छोरीलाई मोबाइल दिने र पैसा दिने बहानामा पटकपटक उनले बलात्कार गरेका थिए । पछिल्लो पटक पुष १८ गते बलात्कृत भएपनि कसैलाई सुनाए मारिदिने धम्की दिएकाले पीडितले घटना लुकाउन बाध्य बनिन् । तर, असह्य पीडा भएपछि पीडित बालिकाले आफ्ना दाजुलाई सुनाएपछि घटना भएको दुई महिनापछि मात्रै बलात्कारको घटना सार्वजनिक भएको पीडित परिवारले जनाएको छ । घटना भएको दुई महिनापछि बालिकाले आफूले दिसा, पिसाब गर्दा रगत आउने सुनाएपछि स्वास्थ्य परीक्षण गरिएको पीडितकी आमा बताउँछिन् । ‘अरु नै केही बिरामी होला भनेर मेडिकलमा चेक गराउन लग्यौँ, मेडिकलले औषधि रोक्ने दबै दियो, अन्य त केही सोचेकै थिएनौँ,’ उनी भक्कानिदैँ भन्छिन्, ‘मेरो छोरीको भविष्य कस्तो हुन्छ, न आम्दानी केही हुन्छ ।’
पीडितले फागुन १९ गते इलाका प्रहरी कार्यालय पकलीमा जाहेरी दिएसँगै आरोपित आचार्यले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । ‘जाहेरी आएसँगै पीडकले सोही दिन आत्मसमर्पण गरेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘अहिले प्रहरी थुनामा रहेका उनीमाथि सात दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’
पीडित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । घटनाका दोषीलाई कानून अनुसार कडा कारबाही हुनुपर्ने पीडित पक्षको माग छ । घटनापछि पीडित परिवार यतिबेला विक्षिप्त छन् । मृतककी श्रीमती र दाइ यतिबेला किरिया बसिरहेका छन् । सुनसान रहेको घरमा यतिबेला छोरीको बलात्कारसँगै श्रीमानको आत्महत्याको कारण ठूलो बज्रपात परेको छ ।
Discussion about this post