इटहरी । अहिले नेपालमा १६ दिने लैङ्गीक हिंसाविरुद्धको अभियान चलिरहेको छ । देश भर महिला हिंसा विरुद्धको अभियान चलिरहँदा सुनसरीको दुहबीमा भने दुई दलित महिलामाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
सुनसरीको दुहवीमा मङ्गलबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराउदै पिडित पक्षले न्याय र क्षतिपूर्तिको माग गरेका छन् । पिडित भनिएकी लक्ष्मी परियारका अनुसार गत कार्तिक २२ गते दुहवीका टिकाराम कार्की लक्ष्मी परियारको घरमा मादक पदार्थ सेवन गरेर आएका थिए । उनले परियारकी छोरी आरती परियारलाई उछ्रिंकल र उत्ताउलो तरिकाले हेपाहा शैलीमा अनैतिक कुरा गरे । उनको त्यो हर्कतको प्रतिकार गर्दै आरती परियारले चप्पल उठाएर ‘जानु हुन्छ की हानौँ’भनेर जवाफ फर्काइन ।

त्यसको भोलि पल्ट कार्कीले नै इलाका प्रहरी कार्यालयमा कुरा राखेको र प्रहरीले परियार र उनकी छोरीलाई घटना मिलाउन भन्दै बोलाएको तर आफूहरुले नमानेको परियार बताउँछिन् । त्यसपछि उनिहरु त्यहाँ बाट निस्कदै गर्दा छोरी आरती परियारमाथि थाना अगाडी नै कार्कीका ज्वाई सन्तोष कर्ण जाइलागेको र लुगा च्यातीने गरि मारपिट गरेको लक्ष्मी परियारको भनाई छ । ‘ घटना मिलाउनलाई थानाबाट खबर आयो । हामी गयौँ तर मिल्न दवाव दिँदा हामी मिलेनौँ ।’, उनले भनिन्,‘ त्यसपछि छोरी त्यहाँबाट निस्की । थानाबाट निस्कन नपाउँदै कपालमा समातेर घिसारे र कुटपिट गर्न थाले ।’
आरती परियारमाथि कुटपिट भएपछि छोरीलाई किन कुटेको भन्दै लक्ष्मी छुटाउन गइन् तर उनलाई पनि कार्कीका छोरा रोशन कार्की र रबी कार्की भएर कुटपिट गरेको स्थानीयको भनाई छ । प्रत्यक्षदर्शी भन्छन्,‘उनिहरु(रोशन कार्की र रबी कार्की)ले आमालाई पनि लात्तै लात्ताले हाने । प्रहरीलाई हार गुहार गर्यौ तर हेरेर बसे ।’ कुटपिट पश्चात कार्की प्रहरी कार्यालयमा छिरेर बाइक लिएर हिड्न लाग्दा पक्राउ गर्न आग्रह गर्दा पनि पक्राउ नगरेको स्थानीयको आरोप छ । स्थानीय भन्छन्,‘कुटेर रोशन कार्की प्रहरी कार्यलय गए । प्रहरीसँग कानेखुशी पनि गरे, अनि बाइक लिएर हिँडे । चाहेको भए त्यतिबेला नै समात्न सक्थ्यो तर हामीले भन्दा पनि समातेन ।’ त्यस्तै कार्कीको मोबाइलमा फोन लागिरहेको र प्रहरीले चाहे अहिले पनि पक्रन सक्ने बताउँदै प्रहरी र कार्कीबीच मिलेमतो भएको हो की भन्ने आशंका गरेका छन् ।

यता, यसविषयमा प्रहरीसँग सोधपुछ गर्दा उक्त दिन घटना घटेपनि जाहेरी र अनुमति नभएका कारण तत्काल पक्राउ गर्न नसकिएको असई हरि सापकोटा बताउँछन् । उनि भन्छन्,‘जाहेरी थिएन त्यसैले पकडेनौँ । सम्मानित अदालतबाट अनुमति भएपछि मात्रै पक्राउ गर्न मिल्छ । उनले पिडकको खोजीका लागि प्रहरी खटाएको र फेला पार्नसाथ पक्राउ गर्ने बताएका छन् ।
स्थानीय ज्ञान कुमार परियारले पिडकलाई प्रहरीले कारबाही नगर्ने भए माथिल्लो निकायमा जाने बताए । ‘नेपालमा २०६२÷६३को आन्दोलन पछि पनि ३४÷३५ जना दलित समुदायका व्यक्तिहरुले आफूलाई माथिल्लो जात र वर्ग सोच्ने व्यक्तिहरुको भेदभाव पूर्ण व्यवहारको शिकार भई विभिन्न घटनामा ज्यान गुमाइसकेका छन् ।’, उनले भने,‘ प्रहरीले पिडकलाई नपक्रनु आपत्तिजनक छ । टायरबालेर प्रदर्शन गर्ने अवस्था नबनोस् ।’ पिडक भनिएका टिकाराम कार्की रिटायर्ड प्रहरी भएका कारण प्रहरी पनि घटना प्रति उदाशिन भएको हो की भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ ।
Discussion about this post