• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले

होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’ पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उनले बताए । ‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ पार्टी अध्यक्ष ओलीतर्फ संकेत गर्दै रावलले भने ।अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? लगायतका विषयमा स्पष्टीकरण सोध्ने उनले बताए ।
स्पष्टीकरण सोध्दै आफूहरुलाई काटिएको पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्र भन्दै रावलले भने, ‘त्यस्तो नक्कली लुगा फुकालेर जस्ताको जस्तै जनतामा ल्याइदिन्छौं ।

माधव नेपालका लागि संकटपूर्ण समय
‘आत्तिने र मात्तिने यी दुई कुरामा प्रष्ट छु । संकटमा आत्तिने र शक्तिमा मात्तिने कहिल्यै गर्नुहुँदैन ।’नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्भवतः धेरै प्रयोग गर्ने हरफ हुन्, यी । सभा सम्बोधन, पार्टी प्रशिक्षण र भेटवार्तामा आउनेहरूलाई स-प्रसंग यी हरफ सुनाउन उनी प्रायः छुटाउँदैनन् ।तर, तिनै नेता नेपाल सामुन्ने अहिले चानचुने संकट आइलागेको छैन । पार्टी र राज्य सत्ताको शक्तिमा रहँदा माधव नेपाल मात्तिए कि मात्तिएनन् ? त्यो समीक्षाको विषय भयो । तर, अहिले उनी आत्तिएका छन् कि छैनन् ? त्योचाहिं आम चासोको विषय हो ।

ओलीको बज्र !
माधव नेपाल सामुन्ने निर्णायक संकट भने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार चालेको कदमबाट सिर्जना भएको छ । ओलीको कदमपछि नेता नेपालसँग आफूमात्रै नभएर साथ दिने नेता-कार्यकर्ता पंक्तिको राजनीतिक भविष्य जोगाउनुपर्ने दायित्व छ ।सँगै, आफैँले दाबी गरिरहेको वाम आन्दोलन उँचाइमा लैजाने अनि एमालेलाई एकताबद्ध राख्नु सजिलो देखिंदैन । नेपालमाथि आइलागेको संकटलाई उनी निकट नेताहरू पनि चानचुने ठान्दैनन् ।

हुन पनि आफैँ नेतृत्व पंक्तिमा रहेर हुर्काएको पार्टीका अध्यक्षबाटै उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण सोध्ने निर्णय भएको छ । र, चेतावनी दिइएको छ- माफी नमागे कार्बाही हुन्छ ।नेता नेपाललाई साथ दिइरहेका अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई पनि कार्बाही गर्ने तयारी थियो । तर, शाक्य र झाँक्रीबारे भने ओलीले पुनर्विचार गरे । अर्थात्, बालुवाटार बैठकले प्रष्ट संकेत दिएको छ- ओलीसँग असहमति राख्ने जोसुकै, जुनसुकै बेला कार्बाहीमा पर्न सक्छन् ।

त्यसका लागि एमाले संसदीय दलको विधान संशोधन र बैठकको निर्णयबाट ओलीलाई पार्टी र संसदीय मोर्चाको सर्वाधिकार दिइएको छ । त्यो सर्वाधिकारको झल्को ओलीले शनिबार नै दिइसके । वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित ३८ सांसदको सन्देश लिएर बालुवाटार पुगेका सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारलाई ओलीले समूहगत प्रस्ताव नल्याउन चेतावनी दिएका थिए । सँगै, ५ पुस यता भएका कुनै पनि निर्णयमा पुनर्विचार नगर्ने ओलीले आफू निकट नेताहरुसँग बचनबद्धता गरिसकेका छन् ।

जबकि, ओलीले आफूइतर समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने र साथ दिने माओवादीका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि नेपाल समूह समानान्तर गतिविधि र कमिटी बनाउनतिर लागेको छ ।

नेपाल समूहको तर्क छ- २३ फागुनमा सर्वोच्च अदालतले दिएको फैसलाअनुसार, २ जेठ २०७५ अगाडिकै पार्टी संरचना र विधान बमोजिम एमाले चल्नुपर्छ । तर, ओली यो शर्त र तर्क मान्न मञ्जुर देखिंदैनन् ।

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार